काठमाडौँ, ५ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई तल पार्न खोजिएको टिप्पणी गरेका छन् ।
एमालेले आजदेखि संगठन सुदृढीकरण तथा विस्तार गर्नका लागि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको पार्टी मुख्यालयबाट भर्चुअलरूपमा उद्घाटन गर्दै उनले स्वतन्त्र नेपाल आफैँ उभिन खोज्दा नदिने र मनोवल गिराउन खोजिएको तर्क गरे ।
देशभक्त शक्तिलाई समाप्त पार्न र परिवर्तनकारी शक्तिलाई पराजित गर्न खोजिएको भन्दै उनले अब राष्ट्रिय राजनीति नयाँ उचाइमा जानेसमेत बताए । उनले न्यायको पक्षमा चल्न खोज्ने शक्तिलाई कमजोर बनाउन खोजिएको धारणा राखे ।
एमाले अध्यक्ष ओलीले आंशिक हिसाबले नेपालको स्वाधिनतालाई दबाउने र खण्डित गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो । उहाँले सत्ताका लागि घुँडा टेक्ने र देशका लागि योगदान दिन तयार रहने शक्तिबीच लडाइँ भइरहेको धारणा राखे।
सत्ता नै सबथोक हो भनेर लाग्ने शक्तिले मुलुकको भौगोलिक अखण्डतामा मिचे पनि केही नबोल्ने गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले नेपाललाई अतिक्रमित बनाउन खोजिएकोसमेत बताए ।
एमालेले नै लोकतन्त्रलाई बलियो बनाउने बताउँदै उनले मिसन ग्रासरुट अभियानबाट एमालेलाई पहिलो शक्ति बनाउने दाबी गरे । अध्यक्ष ओलीले आगामी निर्वाचनमा कसैको वैशाखीमा नटेकी एक्लै चुनावी मैदानमा जाने बताए । “अबको हाम्रो मिसन ५१ प्रतिशत भोट हो,” उनले भने, “निर्वाचनमा हामी कसैको पनि वैशाखी नटेकी लड्छौँ ।”
अध्यक्ष ओलीले पार्टीको विचारमा अन्योल र समस्या नभएको भन्दै अभियानले पार्टीलाई थप मजबुद बनाउने बताए । उनले अभियानले पार्टीलाई वैचारिकरूपमा सशक्त र सांगठनिकरूपमा सृदृढ, अनुशासित र एकताबद्ध बनाउने बताए ।