पार्टीमा व्यापक रूपान्तरण गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

51

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा प्रधानमन्त्रीले पार्टीमा गुणात्मक सुधारको आवश्यकता औँल्याए ।

उनले भने, “पार्टीको स्थायी समिति बैठकले दुई महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्र्णय गरेको छ । अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुपर्छ । हामी सबै पार्टीका तल्ला समितिमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौँ ।” उनले सो अभियानले पार्टी र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुने बताए । उनले भने, “त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बेठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौँ ।”

“हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो,” उनले भने, “यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेको छौँ । सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ । सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनःनिर्माणको आधार तयार पार्नु पनि हो । तपाईंहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला ।”

Share This:
सम्बन्धित खबर
Loading...