काठमाडौँ, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्ता साझेदार दलबीच विवाद नरहेको बताएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् ।
गत १० पुसमा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको बताइएको थियो । तर, राष्ट्रपति कांग्रेसले लिनेगरी राजनीतिक कोर्ष अघि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच आशंका उत्पन्न भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपतिबारे विवाद नरहेको दाबी गरेका हुन् । संयन्त्रको बैठकमा सरकारका कामकारबाहीको समीक्षा गरिएको जानकारी दिँदै उनले गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको बताए ।
यस्तै, रविलामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउनेबारे सत्ता गठबन्धनमा छलफल भएको उनले बताए ।
“रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइराखेको छ,” उनले भने, “यस विषयमा बैठकमा कुराकानी भयो । उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ । त्यसका बारेमा केही प्राविधिक समस्या पनि छन्, छलफल भइराखेको छ ।”