कर्णाली, ७ कात्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र संघीयताको रक्षा भएको बताएका छन् ।
पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न वीरेन्द्रनगरको सुर्खेत पुगेका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताए । परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिएकाले गठबन्धन लामो समय रहने उनले दाबी गरे ।
उनले भने, “संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको हो । यसको जितका लागि सबै मिल्नुको विकल्प छैन । गठबन्धनविरूद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु ।” उनले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न प्रदेशका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
कर्णाली आर्थिक समृद्धिको प्रमुख आधार भएको बताएका प्रधानमन्त्री देउवाले यहाँको विकास र समृद्धिका लागि सरकार लागिरहेको जनाए । “गठबन्धन दललाई यो चुनावमा जिताउनुस्, पाँच वर्षभित्र हामी परिणाम देखाउँछौँ,” उनले भने ।