कांग्रेसलाई ठेगान लगाउनु पर्ने दिन नआओस् : प्रचण्ड

102

काठमाडौँ, १८ जेठ । नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेजस्तै अहंकारले नचुलिन कांग्रेस नेतृत्वलाई चेतावनी दिएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिका लागि बुधबार काठमाडौँमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

‘कहिले एमालेलाई ठुलो बनाउँछ र कहिले कांग्रेसलाई ठुलो बनाउँछ भन्ने आरोप हामीमाथि लाग्ने गर्छ । यो हाम्रो बाध्यता र आवश्यकता पनि हो । हामीले राम्रै भावना राखेर एमालेसँग गठबन्धन र पार्टी एकता गरेका थियौँ । तर, एमालेका साथीहरू अहंकारले चुलिएपछि ठेगान लगाउनु पर्‍यो,’प्रचण्डले भने,‘अहिले गठबन्धनपछि कांग्रेसले धेरै ठाउँमा जितेको छ । माओवादी केही होइन रहेछ भन्ने अहंकार कतिपयलाई भएको होला । अहिलेको सरकार बनाउन हामीले धेरै मेहनत गरेका छौँ । कांग्रेसले हामीलाई हल्कारूपमा नलेओस् । अहंकार चुलिएर एमाले जसरी नै कांग्रेसलाई पनि ठेगान लगाउनु पर्ने दिन नआओस् ।’

स्थानीय तहअन्तर्गत महानगर र उपमहानगरमा बल्ल तल्ल गठबन्धन भए पनि नगरपालिका र गाउँपालिकामा गठबन्धन प्रभावकारी बन्न नसकेको प्रचण्डले टिप्पणी गरे । गठबन्धन प्रभावी नहुँदा पनि माओवादीले १२२ स्थानमा प्रमुख पद जित्नु राम्रै रहेको उनले बताए ।

स्थानीय निर्वाचन परिणामबाट सिकेर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनलाई थप प्रभावकारी बनाइने उनले जानकारी दिए । ‘कतिपयले हामीलाई ३० स्थानसम्म मात्रै जित्छ भनेका थिए । कतिले ५० देखि ८० स्थानसम्म जित्न सक्छ, त्यहाँभन्दा माथि जाँदैन भने । तर, हामीले १२२ स्थान जितेका छौँ,’ उनले भने, ‘भक्तपुरमा नेमकिपाले गरेको विकासबाट सिक्न पनि म साथीहरूलाई आग्रह गर्छु । त्यहाँ नेमकिपालाई फ्याँक्ने भनेर विगतमा मैले पनि भक्तपुर दरबार स्क्वायरमा गएर भाषण गरेँ । एमाले र कांग्रेसले फ्याँक्ने कोसिस गरे पनि जनताका अगाडि केही लागेन ।’

प्रचण्डले थपे, ‘१२२ वटा स्थानीयतहलाई तपाईँहरूले भक्तपुरजस्तो बनाउने कोसिस गर्नुभयो भने र भोलि देशका ७५३ ओटै तहलाई भक्तपुर बनाउने वातावरण बन्छ ।’

माओवादीकै मुद्दा बोकेर उदाए हर्क र बालेन
कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीले जस्तै मुद्दा अघि सारेर काठमाडौँ महानगरमा बालेन र धरानमा हर्क साम्पाङ मेयर चुनिएको दाबी गरे । यद्यपि, आफ्ना एजेन्डा कार्यान्वयन गर्न दलहरूसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प उनीहरूसँग नरहेको उनले बताए ।

‘म धनगढी र जनकपुरका उम्मेदवारलाई स्वतन्त्र मान्दिनँ । उहाँहरूअहिले स्वतन्त्र उठेको भए पनि कुनै पार्टीमा आबद्ध हुनुहुन्छ । जस्तो, स्वतन्त्र जितेका एकजना प्रमुख यो कार्यक्रममा पनि हुनुहुन्छ ।’

माओवादीले उठाए जस्तै जनप्रिय मुद्दा अघि सारेर, जनताका समस्या समाधान गर्छौँ भन्ने विश्वास दिलाएर विजयी उनीहरूलाई आफूले बधाई दिइसकेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

सच्चिनुको विकल्प छैन
अध्यक्ष प्रचण्डले माओवादीमा पहिचानको संकट देखिएकाले त्यसलाई समाप्तगर्नेतर्फ ध्यान केन्द्रित गर्नु पर्ने बताए । ‘हिजो जे भन्थ्यौँ, त्यहीगर्थ्यौँ अहिले जे भन्छौँ, त्यो गर्दैनौँ । जनताले हामीलाई नियालिरहेका हुन्छन्, हामी सच्चिनुको विकल्प छैन,’उनले भने ।

विगत ५ वर्षमा माओवादीले नेतृत्व गरेका धेरै स्थानीय तहको कार्यसम्पादनमा कमीकमजोरी देखिएको प्रचण्डले बताए । ‘यसमा स्थानीय तहलाई मात्रै दोष दिएर हुँदैन । पार्टीले उहाँहरूलाई मार्ग निर्देशन गर्न सकेन । त्यसैले अब सुरुदेखि नै प्रशिक्षित गर्नुपर्छ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ,’उनले भने ।

माओवादीका शीर्ष नेतासहित विभिन्न विषय विज्ञको सहभागिता रहेको प्रशिक्षण बिहीबार समापन हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...