काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले प्रश्नको जबाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेको सम्बोधनका बारेमा टिप्पणी गर्दै उनले भने,“यतिबेला हामीले सुनिदिनुपर्छ । कुन स्थानमा कसरी जबाफ दिने हामी पछि गरौँला ।”
प्रमुख पतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा गलत विषयलाई उठाएको भन्दै सांसद् थापाले प्रश्नको उत्तर हुने भए पनि आवेग, कुण्ठाको कुनै उत्तर नहुने बताए ।
कांग्रेस महामन्त्री थापाले भने,“प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । रन्थनिएका बेलामा उठेर सुतेर, बसेर जसरी बोले पनि हुन्छ । हामीले सुनिदिनुपर्छ ।”
सरकारले तत्काल संकटमा फस्दै गएको अर्थतन्त्रलाई उकास्ने गरी सम्बोधन गर्नुपर्ने उनले औँल्याए ।
“मुख्य कुरा भनेको अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्रै होइन, संकटमा फस्न थालेको छ । आन्तरिक र बाह्य कारणले गर्दा जोखिम बढ्यो भने त्यो जोखिमलाई बहन गर्नुपर्छ । जोखिम आइसक्यो । जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यान जानुपर्यो,” उनले भने ।