मुलुकको सुरक्षामा सशस्त्र प्रहरीले उल्लेखनीय योगदान पुर्‍याएको छ : प्रधानमन्त्री देउवा

133

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो अवधिमै आन्तरिक सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई गर्दै प्रधानमन्त्री देउवाले सीमा सुरक्षा विपद व्यवस्थापनलगायत आन्तरिक सुरक्षाका विभिन्न जिम्मेवारीहरु पूरा गर्दै जनता र सरकारको नजरमा विश्वासिलो सुरक्षा निकायको रुपमा आफूलाई उभ्याएको बताए ।

राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको प्रधानमन्त्री देउवाले मुक्तकण्ठले प्रसंशा गरे ।

उनले सशस्त्र प्रहरी सीमा नाकामा फ्रन्टलाइनमा खटिँदै राष्ट्रको सुरक्षा, सीमा अपराध नियन्त्रणमा क्रियाशील रहेको उल्लेख गर्दै राज्यका सबै निकायहरुले जातजाति, भाषा, धर्म र लिङ्ग नभनी सामूहिक प्रयासकासाथ सुशासन कायम राख्दै राष्ट्रको विकास निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बताए ।

देउवाले सुरक्षा निकायको व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशासित, इमानदार र लगनशील भई कार्यक्षेत्रमा क्रियाशील रहन निर्देशन दिनुकासाथै दीक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा पूर्ण सफलताको कामना समेत गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुस्त, दुरुस्त तथा थप प्रभावकारी ढङ्गले परिचालित हुन समयानुकूल आवश्यक ऐन तथा नियम तर्जुमाका साथै आवश्यक साधन श्रोतहरूको व्यवस्थापनमा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा प्रहरी निरीक्षकहरूद्वारा सलामी अर्पण गर्नुका साथै इज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुका साथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...