राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्छ : सांसद गुरुङ

275

पोखरा । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२औँ राष्ट्रिय जनगणनाबारे तमु धिं नेपालले पोखरामा सोमबार बृहत् अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

हरेक १०/१० वर्षमा हुने राष्ट्रिय जनगणनालाई ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ तमुहरुलाई सचेतताका साथ सक्रिय सहभागिताका लागि आयोजित अभिमुखी कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङले उद्घाटन गर्दै राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्ने बताइन् । जनगणना आधारसँग तथ्यगत महत्व राख्ने भएकाले सचेतनापुर्वक महाअभियानका रुपमा तमुहरु जुट्नुपर्ने बताइन् । जनगणनाले नीति निर्माण, योजनासहितमा विशेष प्रभाव पार्ने भएकाले १२औँ जनगणनालाई नमुना बनाउनुपर्ने उनको भनाइ थियो।

पहिचानसँगको लडाइँ पनि भएकाले एकमत एकता हुन तमुहरु आह्वान गर्दै प्रमुख अतिथि गुरुङले आँखाले देख्ने, खुट्टाले टेक्ने हातले लेख्ने अवस्थासम्म गुरुङहरु क्रियाशील हुनुपर्नेमा जोड दिइन् । तमु धिं नेपालले समय सान्दर्भिक विभिन्न कार्यक्रम, अभियानहरु सञ्चालन गर्दै आएकोमा प्रदेशसभा सदस्यको हैसियतले आफ्नो साथ रहने आश्वासन दिइन् ।

कार्यक्रममा सहजीकरण गर्दै प्रदेश जनगणना कार्यलयका तर्फबाट सुरेन्द्रराज पौडेलले सरकारले गर्नुपर्ने अभिमुखिकरण कार्यक्रम संस्थाले आयोजना गरेकोमा तमु धिं नेपाललाई धन्यवाद व्यक्त गरे । उनले जनगणनाको महत्व, जनगणनाको प्रश्नावली, तमुहरुको विगतको जनसांख्यिक तथ्यांकबारे प्रष्ट्याउँदै १२औँ राष्ट्रिय जनगणनाको लक्ष्य गुणस्तरीय जनगणना भएको बताए । उाले कुनै नछुटोस्, कोही नदोहिरियोस् भन्ने मान्यतालाई आत्मसाथ गर्दै व्यक्तिगत, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक, जनजीवनको यर्थाथ विवरण जनगणनाले प्रस्तुत गर्ने दाबी समेत गरे ।

आदिवासी अधिकार अभियन्ता अमृत गुरुङले राज्यले तथ्यांकलाई आफ्नो अनुकुलमा प्रयोग गरिरहेकाले आन्तरिक गोपनीयताको अधिकारलाई सुनिश्चित रहने गरी तथ्यांक उपलब्ध गराउनुपर्ने बताए । जनगणनाको व्यक्तिगत विवरणमा सोधिन प्रश्नहरु पहिचानसँग विशेष जोडिने भएकाले गुरुङहरुको समुदायगत एकै उत्तर हुनुपर्ने उनको भनाइ थियो। जात जातिमा गुरुङ, पुर्खाको भाषामा गुरुङ, मातृभाषामा गुरुङ, दोश्रोभाषामा तामाङ, थकाली, मगर, नेवार लगायत आदिवासीका भाषा र धर्ममा बौद्ध वा बोन लेख्न लेखाउनपर्ने गुरुङले बताए ।

तमु धिं नेपालमा अध्यक्ष हुमबहादुर गुरुङले राष्ट्रिय जनगणनाको महत्वलाई मनन गर्दै महाअभियानको रुपमा गाँउ बस्ती, टोलटोल, घर घर, व्यक्तिव्यक्तिलाई सचेत र सुसूचित गर्नुपर्ने बताए । दशवर्षमा हुने जनगणनाको तथ्यांकले दीर्घकालिन प्रभाव पार्ने भएकाले सत्य, तथ्यका लागि तमु समाजहरुले टोल टोलमा स्वयमसेवक खटाई सहयोग गर्ने आग्रह गरे । जात जाति, पुर्खाको भाषा, मातृभाषामा गुरुङ, दोश्रोभाषामा नजिकका आदिवासी जनजातिहरु तामाङ, थकाली, मगर, नेवार लगायतका भाषा र धर्ममा बौद्ध वा बोन लेख्न लेखाउन अध्यक्ष गुरुङले अनुरोध गरे ।

Share This:
सम्बन्धित खबर
Loading...