काठमाडौँ, १० साउन । नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ ।’
यस्तै, उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको पनि जानकारी दिनुभयो । ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई मनोनयन गरेको छ जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा.शिवराज अधिकारी पाल्पा, सदस्यहरूमा डा.आरती विसार महोतरी, डा.रमेशप्रसाद सिंह धनुषा, डा.प्रकाश कुमार श्रेष्ठ अर्घाखाँची, श्रीमती गीता कुमारी पौडेल अधिकारी झापा, डा.जय बहादुर टण्डन अर्घाखाँची, गंगादत्त अवस्थी दार्चुलालाई नियुक्त गर्ने निर्णय गरेको छ,’ उहाँले भन्नुभयो ।