काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुरले बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा उहाँले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदा हुँदै परिस्थिति फरक बनेको बताउनुभयो ।
‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेका बेला पनि एउटासँग विवाह गर्ने र अरु अरुतिर चियाउन जान थाले । एमालेसँगको गठबन्धनमा पनि उहाँले त्यस्तै प्रवृत्ति देखाउनुभयो । एमालेसँगको गठबन्धनमा रहँदा पनि हामीसँग भेटेको बेला एमालेसँग सहज अवस्था भएन भन्नुहुन्थ्यो । दुई पार्टीको अध्यक्ष टाढिएपछि आजको अवस्था बन्यो । प्रचण्डले त्यस्तो काम नगरेको भए यो नयाँ सरकार बन्दैन थियो होला,’ उहाँले भन्नुभयो ।
माओवादी, एमाले, रास्वपालगायतका पार्टीहरु नै मिलेर सरकार सञ्चालन गरोस् भन्ने आफूहरुको इच्छा रहेको भए पनि परिस्थिति बदलिएको उहाँको धारणा थियो । ‘हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गर्ने र पार्टीभित्रको फोहोरहरु सफा गर्ने, पार्टीलाई बलियो बनाउने अभियानमा थियौँ । तर, परिस्थिति बदलियो,’ उहाँले भन्नुभयो ।
फरक प्रसँगमा उनले नयाँ सरकार बन्नेक्रममा समझदारीलाई नेपाली कांग्रेसले इमान्दारका साथ पालना गर्ने र एमालेले पनि गर्छ भन्ने आफूलाई विश्वास व्यक्त गर्नुभयो । ‘अब दुई वर्ष अहिलेको सरकार चल्छ । त्यसपछिको १८ महिना हाम्रो सरकार चल्छ । यस बीचमा एकपटक मात्र सरकार परिवर्तन हुन्छ भन्ने समझदारी छ,’ उहाँले भन्नुभयो ।