काठमाडौँ । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जनालाई प्रकाउ गरेको छ ।
बुधबार राति प्रहरीले मध्यपुरथिमि नगरपालिका–लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानी घर भइ काठमाडौँ कोटेश्वर बस्दै आएका ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई पक्राउ गरेको हो ।
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो । वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
मगरलाई आवश्यका कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।