अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्छ : परराष्ट्रमन्त्री खड्का

314

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् । मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

मन्त्री खड्काले अफगानिस्तान, लिबियालगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै आन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको पनि बताए ।

परराष्ट्रमन्त्री खड्काले शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति जुटाउन पनि आग्रह गरेका छन् । त्यस्तै, उनले अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्ने बताए । “अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्छ । उनीहरुले इज्जतका साथ जीवन बाँँच्न पाउनुपर्छ,” उनले ७६औँ महासभालाई सम्बोधन गर्दै भने । त्यस्तै, युएन चार्टरमा आधारित भएर अफगानिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बनाउनुपर्नेमा पनि खड्काले जोड दिए ।

त्यस्तै, परराष्ट्रमन्त्री खड्काले म्यानमार प्रजातन्त्र पुनःबहालीका लागि सबै पक्षलाई आग्रह गरेका छन् ।

महासभालाई सम्बोधनको क्रममा परराष्ट्रमन्त्री खड्काले कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक–सामाजिक असर पारेको बताउँदै, सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्ने बताए ।

नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारको खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै मन्त्री खड्काले सबै नेपालीलाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्य रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...