महिनावारी भएको समयमा कोरोनाविरुद्ध खोप लगाउन मिल्छ ?

421

काठमाडौं । महिनावारी भएको समयमा पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाले महिनावारी भएको समयमा पनि कुनै दुविधा नराखिकन खोप लगाउन मिल्ने जनाएको हो ।

नेपालमा अहिले कोरोनाविरुद्ध खोप अभियान चलिरहेको छ । सरकारले लक्षित वर्गभित्र पर्ने १८ वर्ष माथिका सबैलाई प्रथमिकताका आधारमा खोप प्रदान गरिहेको छ । खोप कार्यक्रम चलिरहदा भने धेरै युवती तथा महिलाहरु खोपका विषयमा दुविधामा रहेका छन् ।

उनीहरुले महिनावारीको समयमा कोरोनाविरुद्धको खोप लगाउन मिल्छ कि मिल्दैन भन्नेबारे जानकारी नहुँदा अन्यौलता सिर्जना भएको छ । तर, अहिले उक्त अन्यौलतालाई चिरेर मन्त्रालयले खोप लगाउँदा कुनै समस्या नहुने जनाएको छ । ‘महिनावारी भएको समयमा खोप लगाउन मिल्छ’ मन्त्रालयले भनेको छ, ‘महिनावारीको समयमा खोप लगाउँदा कुनै असर गर्दैन ।’

खोपको विषयमा अध्ययन गरिरहेको विज्ञहरुले पनि गर्भवती तथा सुत्केरीले खोप लगाउन मिल्ने जनाइसकेको छ । त्यसैलेपनि महिनावारी भएको समयमा पनि महिलाले प्राथमिकताको साथ खोप लगाउँदा हुने मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...