काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिजालले सर्वोच्च अदालतले दलको ह्विप नलाग्ने फैसला गरे मुलुक बहुदलीय पञ्चायती व्यवस्थामा फर्किने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् उनले हाम्रो संविधान र बहुदलीय संसदीइ व्यवस्थाको भविष्य कस्तो हुने छ भनेर निर्धारण अब आउने फैसलाले गर्ने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन् “दलको निर्णयबिना व्यक्तिहरुको निर्दलीय सरकार बनाउन पाइन्छ र दलको ह्विप लाग्दैन भन्ने फैसला भएछ भने संशोधनको प्रक्रिया नै अवलम्बन नगरी संविधान संशोधन हुने छ र मुलुक बहुदलीय पञ्चायती व्यवस्थातिर फर्किनेछ ।”
रिजालले अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी बहसप्रश्चात दिने आदेशमा दुई प्रश्न निरुपण गर्नुपर्ने देखिएको बताएका छन् । “प्रधानमन्त्रीले ७६(४) अर्थात् सदनमा परीक्षण नगरी ‘मार्गप्रशस्त गरेँ’ भनेर अर्को सरकार बनाउन ७६ (५) मा जान पाइने कि नपाइने ?” उनले अदालतले टुङ्ग्याउनुपर्ने विषयलाई प्रश्न गरेका छन्,“बहुदलीय व्यवस्थामा दलहरुको निर्णय र सहभागिताबिना निर्दलीय सरकार बनाउन पाइने कि नपाइने ?”
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका तर्फबाट शुक्रबार बहस सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट आइतबार बहस हुने छ । सभामुखको पक्षलाई २ घन्टा समय छुट्ट्याइएको छ ।
रिजालले फेसबुकमा लेखेका छन्ः
अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी बहस सकिँदै गर्दा अदालतले यी २ प्रश्न निरुपण गर्नुपर्ने देखियोः
१. प्रमले ७६(४) अर्थात् सदनमा परीक्षण नगरी ‘मार्गप्रशस्त गरेँ’ भनेर अर्को सरकार बनाउन ७६ (५) मा जान पाइने कि नपाइने ?
२. बहुदलीय व्यवस्थामा दलहरुको निर्णय र सहभागिताबिना निर्दलीय सरकार बनाउन पाइने कि नपाइने ?
यी प्रश्नको निरुपणले हाम्रो संविधान र बहुदलीय संसदीय व्यवस्थाको भविष्य कस्तो हुनेछ भनेर निर्धारण गर्नेछ । यदि दलको निर्णयबिना व्यक्तिहरुको निर्दलीय सरकार बनाउन पाइन्छ र दलको ह्विप लाग्दैन भन्ने फैसला भएछ भने संशोधनको प्रक्रिया नै अवलम्बन नगरी संविधान संशोधन हुने छ र मुलुक बहुदलीय पञ्चायती व्यवस्थातिर फर्किने छ ।