पाँच दलको गठबन्धन संघर्षका कार्यक्रम ल्याउँदै

325

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको ‘प्रतिगमन’ विरुद्ध संयुक्त मोर्चा बनाएका पाँच दलले संघर्षका कार्यक्रम घोषणा गर्नै लागेको जानकारी गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका तर्फबाट राजधानीका सम्पादकहरूसँग बिहीबार गरिएको अन्तरक्रियामा यो जानकारी गराइएको हो ।सात सालको राजनीतिक परिवर्तनदेखि २०६२÷६३को आन्दोलनसम्म तपाईं हेर्नुहोस्, राणा शासन ढाल्दा होस् वा पञ्चायती व्यवस्था फाल्दा होस्, राजतन्त्रलाई बिदाइ गर्दा पनि प्रजातन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर लडे, आज कुर्सीका लागि राष्ट्रिय स्वाभिमान पनि दाउमा लगाउने ओलीको सरकारसँग हामी लडिरहेका छौं, हाम्रो जित निश्चित छ’, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्र र संविधानका लागि जसरी पनि हामीले यो जित हासिल गर्नैपर्छ ।

करिब ५० को संख्यामा रहेका सम्पादकहरूले ‘आम जनताले विश्वास गर्नेगरी पाँच दलका नेताहरूबाट प्रधानमन्त्री ओलीको समूहभन्दा भिन्न व्यवहार देखाउने संकेत दिन नसकेका कारण प्रेस जगत्ले तपाईंहरूलाई अझ बढी सहयोग गर्न नसकेको हो, आम जनताका लागि ओली र देउवा वा प्रचण्ड उस्तै–उस्तै छन्, अदालतदेखि संवैधानिक निकाय र प्रशासनसम्म आफ्ना कार्यकर्ता भर्ने’ भनेर टिप्पणी गरेका थिए ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागत मन्तव्यबाट सुरू भएको र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेको सो अन्तरक्रियामा नेताहरूले पाँच दलको गठबन्धन बलियो सैद्धान्तिक धरातलमा उभिएकाले दीर्घकालिक हुने दाबी गरेका थिए ।नेपालमा भएका ठूला परिवर्तनहरू वामपन्थी र नेपाल कांग्रेसको सहकार्यकै कारण सम्भव भएको इतिहास छ, पाँच दलको गठबन्धन पनि सफल हुन्छ, प्रधानमन्त्री केपी ओलीको अराष्ट्रिय र अधिनायकवादी सत्ता त ढल्छ नै लोकतान्त्रिक उपलब्धिहरूको पनि रक्षा हुन्छ’, प्रचण्डले भने ।

सम्पादकहरूको टिप्पणीको जबाफ दिँदै उनले दाबी गरे, ‘तेस्रो विश्वका मुलुकलाई असफल बनाउन सबै राजनीतिक दल र नेताहरूलाई तीव्र आलोचना गर्ने र जनताबाट उनीहरूलाई अलग्याउने रणनीति खेल्ने गरिन्छ, त्यसैले सबै नेतालाई एउटै डालोमा हाल्न मिल्दैन ।’‘म प्रधानमन्त्री हुँदा सानो विवाद उठ्यो, त्यसका आधारमा मैले राजीनामा दिएँ, पछि पनि म पूरा पाँच वर्ष प्रधानमन्त्री हुन सक्थेँ, त्यो पनि मैलै त्यागेँ, तुरुन्तै पद त्याग्ने प्रचण्ड र राष्ट्रियता दाउमा लगाएर पनि पद जोगाउने ओली उस्तै होइन ।’उनले ‘हामीमा कमजोरी छन् तर नेता एकै रातमा उमार्न सकिन्न, हामीलाई नै धोईपखाली गरेर तपाईंले काम चलाउनैपर्छ’ भनेर सम्पादकहरूलाई चित्त बुझाउने प्रयास गरे ।

‘राष्ट्र र संविधानको खिलाफमा प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को स्वेच्छाचारी कदम चालेका छन्, यसका लागि पाँच दल व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सक्रिय भएर आन्दोलन गर्दै छ, जसमा मिडियाको सहयोग अनिवार्य छ’, नेका सभापति देउवाले स्वागत मन्तव्य राख्दै भने, ‘ओलीको निरंकुशताविरुद्ध हामी लामो समयसम्म एकीकृत ढंगले अघि बढ्नेछौं ।’

राष्ट्रिय जनमोर्चाका महासचिव भट्टले प्रधानमन्त्री ओली भारतको सत्ताधारी भाजपा र उनकै गुप्तचर संस्था रअको इसारामा चल्ने, राजतन्त्र पुनर्जीवित गर्ने र नेपाललाई हिन्दु राज्यतर्फ फर्काउने योजनका लागि कारक बनेको टिप्पणी गरे ।जसपा अध्यक्ष उपेन्द्र यादवले विश्वमा एउटै संसद्लाई दुईपटक विघटन गर्ने र विश्वासको मत गुमाउँदा पनि राजीनामा नदिने प्रधानमन्त्रीमा ओलीले नाम लेखाएर दुनियाँ हसाएको टिप्पणी गरे । उनले भने, ‘बारम्बार असंवैधानिक काम गर्ने, त्यसलाई सर्वोच्च अदालतले प्रमाणित गरिदिए पनि बेवास्ता गर्दै पदमै टाँसिइरहने ओली प्रतिगमनका दूत भएका छन् ।’ नेपाल समाचारपत्रबाट

Share This:
सम्बन्धित खबर
Loading...