कोशीमा एमालेको इन्ट्री, बालुवाटारको सहमति तोडियो

15

विराटनगर, २९ असोज । गठबन्धनको निर्णय उल्लंघन गर्दै नेकपा (एमाले)को साथ लिएर कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा.शेखर कोइरालाबीच भएको सहमति फेरि उल्लंघन भएको छ ।

‘गठबन्धन बलियो बनाउने’ गरी तीन नेताबीच भएको सहमतिविपरीत कोशीमा आइतबार मुख्यमन्त्री केदार कार्कीले आफूलाई सहयोग गर्ने कांग्रेसको विद्रोही समूह र एमाले समेटेर मन्त्रिपरिषद् गठन गरेका छन् । यससँगै केन्द्रसहित सातै प्रदेशमा प्रतिपक्ष बनेको एमाले सरकारमा फर्किएको छ । प्रचण्ड, देउवा र कोइरालाले कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन नदिने सहमति गरेपछि कोशीमा एमालेबाहेक गठबन्धनकै सरकार बन्ने अनुमान थियो । तर, कोशीमा एमाले सरकारमा सहभागी भएको छ ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा भएको सहमतिपछि चितवन पुगेर कोशीमा उत्पन्न समस्याको समाधान भएको बताउँदै अब गठबन्धनकै सरकार बन्ने दाबी गरेका थिए । उनले तीन नेताबीच भएको सहमतिले अब गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धकै मुख्यमन्त्री भएको स्पष्ट पारेका थिए । तर, मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गर्दा विद्रोही कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेसका कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९ सांसदमध्ये ८ जना र एमालेका ३९ जनाले हस्ताक्षर गरेका थिए । सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि शेखर पक्षका कार्कीले ८ सांसदसहित विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । नेपाल समाचारपत्रबाट

Share This:
सम्बन्धित खबर
Loading...