काठमाडौं । आज मे १ तारिख । अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसै अवसरमा श्रमजीवि जनसमुदायलाई शुभकामना दिएका छन् । प्रचण्डको सन्देशमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गर्दछु ।’
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घन्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मे १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने सन्दर्भको स्मरण गर्दै प्रचण्डले शुभकामना ब्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ, ‘नेपालमा विसं. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै हामी समाजवादी लक्ष्य तर्फ लामवद्ध हुन आइपुगेका हौं ।’
श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार भएको भन्दै प्रचण्डले भनेका छन, ‘श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो । तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ ।’
सम्पूर्ण श्रमजीविहरुको एकता अहिलेको अवस्थामा अपरिहार्य बनेको भन्दै प्रचण्डले आफ्नो शुभकामना सन्देशमा भनेका छन, ‘पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’
कोरोना भाइरसको दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको प्रचण्डले बताएका छन । श्रमजीवि जनताको दैनिक गुजाराबारे चिन्ता ब्यक्त गर्दै उचित ब्यवस्थापनका लागि प्रचण्डले सरकारसंग माग गरेका छन् ।
उनले भनेका छन, ‘श्रमजीविहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’ सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुलाई पनि खुला हृदयका साथ समस्यामा परेका रोजगारविहीन श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डले अपिल गरेका छन् ।