सुदूरपश्चिम प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना !

574

धनगढी । नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतिले सुदूरपश्चिममा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो ।

५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांसद छन् ।

जनता समाजवादी पार्टीका दुवै जना सांसद् पूर्व राजपा अर्थात् महन्थ–राजेन्द्र पक्षका भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने पक्का भएको हो ।

एमाले र माओवादीको गठबन्धन पछि भागबन्डाको आधारमा सुदूरपश्चिम प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको थियो । तर अहिले एमाले एक भएपछि वर्तमान सरकारको विकल्प आवश्यक रहेको एमाले नेताहरू बताउँछन् ।

साबिक नेकपा टुक्रिएपछि प्रदेशमा एमालेभित्र नेपाल समूह बलियो हुँदा माओवादी नेतृत्वको सरकार परिवर्तनमा एमालेलाई चुनौती थियो । माओवादी र नेपाल समूह एक भएका कारण प्रदेश सरकार फेरबदल हुन सकेन । बरु एमाले भित्रै ओलीलाई समर्थन गरेको भन्दै १४ पुसमा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

ओली पक्षमै देखिएका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले २२ पुसमा मन्त्री पदबाट राजीनामा दिए । माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका बोहरा अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

सर्वोच्च अदालतले एमालेलाई पूर्ववत् अवस्थामा ल्याइदिएपछि नै प्रदेशमा सरकार परिवर्तनको पहल नभएको भने होइन । तर, ओली समूहभन्दा नेपाल समूह बलियो भएका कारण सरकार फेरिन सकेको थिएन । एमाले भित्र नेपाल समूहका प्रकाश शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुबेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग वन तथा वातावरणमन्त्री छन् ।

सभामुख बाहेकका २४ जना सांसदमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ६ जना मात्रै थिए ।

प्रदेश सरकार गठन गर्न २७ जना सांसद आवश्यक पर्छ एमालेको २५ र जसपाका २ जनासहितको सरकार बन्नेमा एमालेकै सांसदहरू पनि ढुक्क हुन थालेका छन् ।

“ओली पक्षका सांसदहरू बलियो भएको भए उहिल्यै सरकार ढालिसक्थे,” नेपाल समूहका एक सांसदले भने, “हामी बलियो भएका कारण यो सरकार रहेको हो । एक भएपछि हामी नै सरकारको नेतृत्व गर्छौं ।”

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पनि अब प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने बताएका छन् । “अब सरकारको नेतृत्व नेकपा एमालेले गर्छ,” उनले भने, “हामीले गृहकार्यमा सुरु गरिसकेका छौं ।”

Share This:
सम्बन्धित खबर
Loading...