काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) बमोजिम नयाँ सरकार बनाउन आह्वान गरेकी छन् ।
सोमबार राति एक विज्ञप्ति जारी गर्दै उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री पदमा दाबी पेस गर्न सूचना जारी गरेकी छन् । उनले वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न सूचना जारी गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेर बहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति भण्डारीलाई आह्वान गरेका थिए ।
