बालुवाटार जग्गा प्रकरणः पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिटमा सुनुवाइ हुँदै

521

काठमाडौं । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज पुनःपेशी चढेको छ ।

अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा परेको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

२०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै उनले दायर गरेको रिटमाथिको सुनुवाइ भने विभिन्न कारणले स्थगित हुँदै आएको छ ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला जग्गा व्यक्तिको नाममा लगिएको थियो । अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ ।

अख्तियारले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...