म्यान्मारको जननिर्वाचित सत्ता उल्ट्याउने सेना प्रमुख को हुन् ?

363

एजेन्सी । म्यान्मारको सत्ता सेनाले हत्याएपछि सबैको ध्यान त्यहाँका सेना र सेना प्रमुखतर्फ गएको छ । म्यान्मारका सेना प्रमुख सिनियर जनरल मिन आङ लाइंग हुन । त्यहाँको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीका प्रमुख नेताहरुलाई गिरफ्तार गरी सत्ता हत्याएपछि सेनाले एक वक्तव्य जारी गरेको छ । त्यसमा भनिएको छ, “अब म्यान्मारको संसद, प्रशासन र न्यायापालिकाको जिम्मेवारी सेना प्रमुख सिनियर जनरल मिन आङ लाइंगले सम्हाल्नेछन ।”

म्यान्मारको राजनीतिमा सेनाको दबदबा सधैँजसो रहँदै आएको छ । सन १९६२ मा देशको शासन सत्ता हत्याएपछि सेनाले करिब ५० वर्ष प्रत्यक्ष शासन चलाएको इतिहास छ । लोकतान्त्रिक व्यवस्थाको माग चर्किँदै गएपछि सन २००८ मा नयाँ संविधान जारी गरियो । यो संविधानले सरकार र विपक्षी दललाई केही स्थान दियो । तर सेनाको स्वायत्तता र वर्चस्वलाई कायमै राख्यो । नयाँ संविधानले सेना प्रमुखको सर्वोच्चता कायमै राख्यो । उनलाई कसैप्रति पनि जवाफदेही हुनु नपर्ने व्यवस्था गरियो । म्यान्मारको लोकतान्त्रिक सरकारलाई कानुन ल्याउने अधिकार त थियो तर लागु गर्ने अधिकार सेना प्रमुखमा निहित थियो ।

प्रहरी, सीमा सुरक्षा बल तथा प्रशासनिक निकाय माथीको नियन्त्रण सेना प्रमुखकै हातमा राखियो । नयाँ संविधानले सेनाका लागि संसदका एक चौथाइ सिट सुरक्षीत गरेको छ । सरकारका रक्षामन्त्री, गृहमन्त्री, सीमा सम्बन्धि मन्त्रीको नियुक्ति पनि सेना प्रमुखले नै गर्ने व्यवस्था गरियो । कुनै पनि संवैधानिक फेरबदलमा सेना प्रमुखले भिटो प्रयोग गर्ने अधिकार राख्छन् । यसका अलावा कुनै पनि जन निर्वाचित सरकारलाई सत्ताबाट हटाउन सक्ने अधिकार पनि सेना प्रमुखमा निहित छ ।

संविधानले दिएको यही अधिकार प्रयोग गर्दै सत्ताधारी दलका तमाम नेताहरुलाई गिरफ्तार गरि म्यान्मारको सत्ता हत्याएका सेना प्रमुख मिन आङ लाइंग ६४ बर्षका पुगे । उनले सन १९७२ देखि ७४ सम्म यंगुन विश्वविद्यालयमा कानुनको अध्ययन गरेका थिए । त्यसबेला म्यान्मारमा राजनीतिक सुधार गर्नुपर्ने मागसहित आन्दोलनहरु हुन थालेका थिए ।

आफ्ना सहपाठीहरुको रुची देखेर लाइंग पनि सन १९७४ मा मिलिट्री युनिभर्सिटी ‘डिफेन्स सर्भिसेज एकेडेमी’ (डिएसए) मा भर्ना भए । लाइंगले तेस्रो पटकको प्रयासबाट डिएसएमा प्रवेश पाएका हुन् । औषत तहका क्याडेट लाइंग विस्तारै प्रगती गर्दै थिए । लाइंगले सन २००९ मा म्यान्मार र चीन सीमामा पर्ने कोकांग विशेष क्षेत्रमा सशस्त्र समूहविरुद्ध अपरेसन चलाए । एक सातामा अपरेसन सफल पारेपछि लाइंग निकै चर्चामा आए । त्यो अपरेसनका क्रममा थुप्रै विद्रोहीहरु मारिए भने बँचेकाहरु त्यहाँबाट खेदिए । त्यसबेला ३० हजार मानिसले चीनमा शरण लिएका थिए । यो अपरेसन पछि कोकांग क्षेत्रमा रहेको व्यापारिक मार्ग पनि खुलेको थियो ।

मिन आङ लाइंग सन २०११ मार्च ३० मा म्यान्मारको सेना प्रमुख बने । त्यसबेला म्यान्मार लोकतान्त्रिक कदम तर्फ अघि बढिरहेको थियो । लाइंग सेना प्रमुख बनेपछि पूर्वी सीमामा रहेका विद्रोहीहरुसंगको युद्धमा धेरै समय विताए । त्यस क्षेत्र म्यन्मारको अल्पसंख्यकहरुमाथी भएको उत्पिडनको घटनाबाट पनि प्रख्यात बनेको छ ।

मिन आङ लाइंगले सन २०१६ मा सेना प्रमुखको आफ्नो कार्यकाल पुनः आफै ५ वर्ष बढाए । आङ साङ सुचीको जननिर्वाचित सरकारको कार्यकाल सुरु भैरहेको बेला लाइंगले लोकतन्त्रको सम्मान गरेको जस्तो देखाए । त्यसबेला उनले सामाजिक सञ्जालको माध्यमबाट देश भित्र आफ्नो लोकप्रियता बढाउन थुप्रै प्रयासहरु गरे । सार्वजनिक भेटघाट, मठ, मन्दिर तथा गुम्बाहरुको यात्राहरुको अधिक प्रचार गरे । यही कारण लाइंगको फेसबुक फलोअरको संख्या लाखौँको संख्यामा थियो । तर सन २०१७ मा रोहिंग्या मुस्लिम अल्पसंख्यकहरुविरुद्धको कारवाहीका कारण लाइंगको फेसबुक एकाउण्ट बन्द गरिएको थियो ।

रोहिंग्या मुस्लिम अल्पसंख्यकहरुविरुद्धको कारबाहीका कारण कुख्यात बनेका लाइंगको विश्वभर आलोचना भयो । सन २०१९ मा संयुक्त राष्ट्र संघको अनुशन्धानकर्ताहरुको टोलीले विश्व समुदायसमक्ष म्यान्मारको सेनासँग सम्बन्धित सम्पूर्ण कम्पनीहरुलाई प्रतिबन्ध लगाउन आग्रह गरेको थियो । त्यसलगत्तै अमेरिकाले म्यान्मारका सेनाका अन्य तीन अधिकारीहरुसहित लाइंगमाथी प्रतिबन्ध लगायो । ब्रिटेनले पनि सन २०२० मा लाइंगविरुद्ध प्रतिबन्धको घोषणा गर्यो । म्यान्मारका सेना प्रमुख जनरल मिन आङ लाइंगविरुद्ध अहिले पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्धा चलिरहेको बिबिसीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...