निर्माणाधीन अरुण तेस्रोको सुरुङमा सोमबारदेखि पानी ‘डाइभर्सन’

328

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको पानी सोमबार सुरुङमा फर्काइएको छ । अरुण नदीको पानी थुनेर सुरुङबाट लागिएको हो । डाईभर्सनको एसजेपिडिसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक नन्दलाल शर्मा र प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले सोमबार उद्घाटन गरे । नदी डाइभर्सन गरेपछि अब बाध निर्माणको काम सुरु हुने छ ।

करिब ४० प्रतिशत काम सकिएको परियोजनामा पानी डाइभर्सन गर्न ४ सय २९ मिटरको सुरुङ बनाइएको छ । सुरुङतर्फ पानी फर्काउने सबै तयारी पूरा भइसकेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युतगृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको उनले बताए । परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।

आयोजना विकास सम्झौता (पिडिए) अनुसार सन २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ । परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युतगृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।

१ खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट बिजुली निशुल्क पाइने र विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुनेछ । परियोजनाबाट प्रभावित स्थानीयले १ अर्ब ६० करोडको सेयर पाउनुका साथै प्रतिमहिना ३० युनिट विद्युत प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पिडिएमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...