बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बी’ एकदमै संवेदनशील हुन्छ : डा.उमिद कुमार श्रेष्ठ [भिडिओ]

71

हेपाटाइटिसका पाँच प्रकार छन् । हामीले सामान्यत जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौँ । यसमा पनि क्रोनिक र अक्युड दुई प्रकारका छन् । दीर्घकालीन र छोटो अवधिका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरुलाई हुने गर्छ । भाइरल हेपाटाइटिस‘ए’ र ‘ई’हाम्रो समाजमा बढी देखिने गर्छ । तर, विश्वभरको परिप्रेक्ष्यमा भाइरल हेपटाइटिस ‘बी’र ‘सी’ को बारेमा बढी छलफल भएको देखिन्छ र जोखिम पनि बढी हुनेगर्छ । अहिलेको अवस्थामा संसारभरमा करिब ३० करोड मान्छेहरुलाई हेपटाइटिस ‘बी’ र ‘सी’ ले संक्रमण गरेको छ भन्ने तथ्यांक छ । २०२२ सम्ममा सबै भाइरल हेपटाइटिस ‘बी’ले मात्र २५ करोड जति मानिसलाई संक्रमण गरेको भन्ने तथ्यांक छ ।

त्यसमध्ये हेपटाइटिस ‘बी’ र ‘सी’ को संक्रमण पश्चिमी राष्ट्रभन्दा नेपालमा अलि कम नै छ । तर, जति पनि छ त्यो अलि बढी संवेदनशील नै छ । किनभने हेपटाइटिस ‘बी’को दीर्घकालिन असरहरु हुन्छ । यसको प्रभाव पनि बढी नै हुन्छ । यसबाट कलेजोको क्यान्सर पनि हुनसक्छ । त्यसकारण हेपटाइटिस ‘बी’ र ‘सी’एकदमै संवेदनशील भएको हुनाले नेपालमा जति संख्यामा छ तिनीहरुको अवस्थालाई ध्यानमा राखेर हेपटाइटिस ‘बी’ र ‘सी’लाई पनि कमजोर ठान्नु हुँदैन ।

हेपटाइटिस ‘बी’बच्चैमा लागेको छ भने करिब ९५ प्रतिशत जति जनसंख्यामा पछि गएर क्रोनिक हेपटाइटिस हुने सम्भावना छ । बच्चाबेला लागेको हेपटाइटिस ‘बी’ एकदमै संवेदनशिल हुन्छ । यो पछि क्रोनिक हुने सम्भावना हुन्छ । बच्चा बेलामा हुने बेलाको हेपाटाइटिसलाई जसरी भएपनि नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्छ । हेपटाइटिस ‘बी’ को भ्याक्सिन छ । समयमा नै भ्याक्सिन दिनसक्यौ भने हेपटाइटिस‘ बी’बाट पूर्ण रुपमा मुक्ति पाउन सकिन्छ । त्यसकारण यो अति नै आवश्यक छ ।

हेपटाइटिस ‘बी’ र ‘सी’बीच तुलना गर्नुपर्दा हेपटाइटिस ‘बी’को औषधिहरु पाइन्छ तर ‘सी’को सुई पाइँदैन । तर, उपचार सम्भव छ । तथापी, पूर्ण रुपमा निर्मूल नहुन सक्छ । उपचार हुन्छ तर त्यसको पूर्ण नियन्त्रणमा नआउन सक्छ । यसको औषधि भएपनि एकदमै महँगो हुन्छ । औषधि भएर मात्र के गर्ने जनताले त्यसलाई किनेर खान नसकेपछि ज्यान जोखिममा पर्नसक्छ । त्यसकारण सरकारले यसका लागि केही व्यवस्था गर्ने हो भने जनतालाई राहत हुन्छ ।

नेपालीहरु हेपटाइटिस भएपछि जडीबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिस भनेर सामान्य मानेर आवुर्वेदिक औषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना हो । जनचेतना फैलाउनैपर्छ । हेपटाइटिस जडीबुटी खाएर मात्र निको हुँदैन । जडीबुटी सेवन गर्नेबितिकै जन्डिस निको हुने होइन । यसका लागि रगत जाँच गरेर वास्तविकता पत्ता लगाउनुपर्छ ।

हेपाटाइसिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमा आएको छ तर यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ । सबैखाले हेपाटाइसिसलाई सम्बोधन गर्नेगरी नीति बनाउनु जरुरी छ । हिजोआज दुर्व्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सी’को जोखिम बढ्दो छ । टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात् मुन्द्री लगाउने चलनले पनि ‘बी’ र ‘सी’को जोखिम बढ्दो छ । यसको उपचार पनि खर्चिलो हुन्छ । भाइरसको संख्या बढी देखियो भने खर्च थप बढ्ने र औषधि पनि महँगो हुने भएकाले सबैले उपचार गर्न नसक्ने अवस्था आउन सक्छ । यसका लागि सरकारले सहुलियतको व्यवस्था गर्नुपर्छ । जे भएपनि हेपाटाइसिसका लागि खानपान मिलाएर मात्र खानुपर्छ । फ्याटी लिभर र रक्सीका कारण हुने लिभरको अन्तिम रुप सिरोसिस हुने भएकाले यसको उपचार एकदमै छिटो गर्नुपर्छ । हेपाटाइसिस भन्दैमा सामान्य रुपले हेर्दा विस्तारै जोखिम बढ्नसक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले हेपटाइटिस लाग्न नदिनको लागि शारीरिक अभ्यासहरु पनि गर्नुपर्छ । यो नै बढी प्रभावकारी हुनसक्छ । दैनिक बानी ब्यहोरामा परिवर्तन गर्नुपर्छ । साबुनपानीले हात धुने, उमालेर मात्र पानी पिउने, खानपानमा ध्यान दिने साथै शारीरिक अभ्यास गर्नेलगायतका कामहरु गर्नुपर्छ ।

(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...