“ट्राफिक प्रहरी महाशाखालाई मोटरसाइकल चोरीविरुद्ध अर्को सफलता : चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ”

231

काठमाडौं । राजधानीबाट मोटरसाइकल चोरी गर्ने गिरोहहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीको घटना बढेसँगै ट्राफिक प्रहरीले पनि विशेष अप्रेसन सञ्चालन गर्दै आइरहेको छ । सोही क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले बिहीबार काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ५ लोलाङस्थित सडकखण्डबाट वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा८७प ८८३९ नम्बरको रातो कालो रङ्गको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा जिल्ला नुवाकोट सूर्यगढी गाउँपालिका–१, भोर्ले घर भई हाल तारकेश्वर-५ लोलाङ बस्ने वर्ष ४१ को जित बहादुर तामाङ्ग, जिल्ला रसुवा नौकुण्ड गाउँपालिका वडा नम्बर २ घर भई हाल गोकर्णेश्वर-२ नयाँपाटी बस्ने वर्ष ४२ को सोमान गंदान तामाङ्ग, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भई हाल बौद्ध बस्ने वर्ष २८ को साङ्तेन तामाङ्ग लामा रहेको महाशाखाले जनाएको छ ।

मोरङ जिल्ला घर भएका पृथ्वीमान लिम्बूले बा८९प २२८५ नम्बरको २२० सिसिको कालो रंङ्गको पल्सर मोटरसाइकल चाबाहिल मैजुबहालबाट हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए ।

हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र चोरीमा संलग्न ३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यस आव २०७७/७८ मा चोरीको मोटरसाइकलसहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १ सय ४७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...