लकडाउनले जुराएको व्यवसाय

156

म्याग्दी । कोरोना भाइरससंक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेलगत्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका–१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए ।

विगत पाँच वर्षदेखि राजमार्गमा यात्रुलाई खाना तथा खाजा खुवाउने रेष्टुरेष्ट चलाएर राम्रै सफलता हात पारेका रावल दाजुभाइ घर फर्किएपछि त्यत्तिकै बस्न सकेनन् । होटेलका अरू मजदूरहरुलाई पनि घर बोलाएर वर्षौँदेखि बाझिएको भुवानेको बारीमा झाडी फाँडेर खेतीसँगै पशुपालन फार्मको पूर्वाधार बनाउन थाले ।

“लकडाउनमा घर आएको बेलामा पशु फार्म खोलेर गाईभैँसी, बाख्रा र कुखुरा पाल्ने योजना बन्यो”, दिनेशले भने, “रेष्टुरेन्टमा काम नपाएर बसेका मजदूरलाई पनि यतै बोलाएर पूर्वाधार तयार पारी चार महिनामै पशु फार्म सुरु गर्‍यौँ ।”

राजमार्गका दुईवटा रेष्टुरेन्टलाई एकै ठाउँमा गाभेर आफन्तलाई चलाउने जिम्मा दिएका रावल दाजुभाइ अब भुवानेमा पशुपालनसँगै होटेल व्यवसायसमेत सुरु गर्ने तयारीमा छन् । रावल पशुपालन तथा कृषि फार्मभित्रै सञ्चालन हुन लागेको खाजाघरलाई गोठालो रेष्टुरेन्ट नामकरण गरेका छन् । “हाम्रो रेष्टुरेन्ट पूरै अर्गानिक र गाउँले जीवनशैलीको भएकाले गोठालो नामकरण गरेका हौँ”, रमेशले भने, “छिट्टै होटेलको पूर्वाधार निर्माण सुरु गर्छु ।” उनीहरुको फार्ममा अहिले सातवटा भैँसी र दुईवटा होलस्ट्यान जातका गाई छन् ।

दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । साँझको दूध बेनी र बिहानको रत्नेचौर तथा बागलुङको कुडुलेमा लगेर बेच्ने गरेका छन् । होलसेल प्रतिलिटर रु ८० र फुटकर रु १ सय प्रतिलिटरका दरले दूध बिक्री हुन्छ । रेष्टुरेन्टमा पनि दूध खपत हुन्छ । दूधका परिकार रेष्टुरेष्टको आकर्षण हो ।

सो फार्ममा २० वटा बाख्रा र स्थानीय जातका कुखुरा पनि पालिएको छ । गाउँका कृषकले पालेका खसीबोका र कुखुरा खरिद गरेर बजार पुर्‍याउने सञ्चालकहरुले बताएका छन् । रु ५० लाखभन्दा बढी लगानी भएको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । फार्मको क्षमता बढाएर पाडापाडी हुर्काउने तयारी गरेका छन् ।

भुवानेमा रावल दाजुभाइको पुर्ख्यौली जग्गा उपभोग हुन नसकेर बाझिएको थियो । अहिले घाँससँगै तरकारी खेती गरेर हराभरा बनाएका छन् । १० रोपनी जग्गामा हिउँदे र बर्खे घाँस खेती गरेका छन् । बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने भुवानेमा पछिल्लो समय कृषिको हब बनेको छ । यहाँ चारवटा तरकारी र दुईवटा गाईभैँसी फार्म स्थापना भइसकेका छन् । दुईवटा होटेल र दुईवटा कुखुरा फार्म खुल्ने तयारीमा छन् ।

सिँचाइको सुविधा भए पनि भुवानेमा खानेपानी र विद्युत्को समस्या छ । खानेपानीको व्यवस्था र नयाँ ट्रान्सफर्मर राखेर विद्युत् आपूर्ति गराउन पहल गरिएको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...