चन्दा असुल्ने चन्द समूहका जिल्ला नेता पक्राउ

171

काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका जिल्ला नेता ५४ वर्षीय मधुसुधन बजगाईँलाई काभ्रेपलाञ्चोक प्रहरीले बुधबार पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौर एक्लेखेतका बजगाईँलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनका अनुसार बजगाईँलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिइ जबर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

खोजतलासका क्रममा बुधबार बजगाईँकै निवासमा पुगी सोधपुछका क्रममा प्रहरी टोलीप्रति नै अपशब्द प्रयोग गरेकाले तत्कालै पक्राउ गरिएको जनाइएको छ । आफू नेकपा–माओवादीका जिल्ला सदस्य भई पार्टीको नीति–निर्देशनअनुसार काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धनका क्रममा बजगाईँले स्वीकारेका छन् ।

बजगाईँलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...