मकवानपुरमा इभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

7

मकवानपुर, २९ वैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा इभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको इभी गाडी ब्रेक फेल भइ सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

गाडीमा चालकसहित ११ जना सवार रहेकोमा ९ जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका थिए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौँ पठाइएको थियो ।

गम्भीर घाइते हुनेहरूमा भारत, बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी रहेका छन् ।

त्यसैगरी ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरी मध्यम घाइते भएका छन् । इभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् । अर्का नेपाली सवार २२ वर्षीय असान साफी सामान्य अवस्थामा आफैँ घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वैशाख २९ गते बिहान १ः३० बजेसम्म सबै ९ जना घाइतेहरूको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सडक अवरुद्ध नभएको र गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...