रामपुरमा फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन

209

रामपुर । अव्यवस्थित रुपमा फालिएका फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी रामपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । विसं २०७६ पुष ५ गते राससमा ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरुप फोहोरजन्य पदार्थलाई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य गरिएको छ ।

नगरपालिकाभित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी कम्पोष्ट मल निकालिएको छ । मेसिनमा फोहोर राखेको करिब दश घण्टामा कम्पोष्ट मल उत्पादन भएको छ । नगरपालिकाले फोहोरजन्य पदार्थलाई दीर्घकालिन रुपमा व्यवस्थापनमा गर्न खोजेको र ठाउँको समस्याले फोहोरलाई व्यवस्थापनमा चुनौती थपिएकाले क्षणिक समयका लागि नगरपालिका परिषरमा नै मेसिन राखेर मल उत्पादन सुरु गर्न लागेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।

“रामपुर नगरलाई फोहोरबाट मुक्त बनाउने र नमुना नगरका रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउने योजनाअनुरुप अघि बढेका छौँ, दैनिक फोहोर निस्कने तर व्यवस्थापनमा समस्या थियो, परीक्षण सफल भयो, अब मेसिनबाट प्रशोधन हुने भएपछि सहज हुनेछ”, नगर प्रमुख थापाले भने । यहाँ परीक्षणका रुपमा उत्पादन भएको कम्पोष्ट मल रामपुर नगरपालिकाले निर्माण गरेको उच्च प्रबिधिको तरकारी टनेल (हाइटेक टनेल) मा प्रयोग गर्ने जनाएको छ ।

फोहोर सङ्कलनका लागि नगरपालिकाले हाललाई एक घरबाट मासिक रु १ सय शुल्क लिने गरेको छ । अब नगरपालिकाले घरघरमा पुगेर फोहोर किनेर यसैबाट आयआर्जन बढाउने, रोजगार दिने र पर्यटक समेत भित्र्याउने लक्ष्य रहेको लिएको नगर प्रमुख थापा बताउँछन् । रामपुर नगरपालिकाले उद्यम चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहकार्यमा फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको हो । रामपुरमा पहिलो पटक मेसिनबाट कुहिने फोहोरजन्य पदार्थ प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्यले सफा र स्वच्छ रामपुर नगर हुने विश्वास स्थानीयको छ ।

नगरपालिकाले फोहोर प्रशोधन गर्ने मेसिन रु १८ लाख ९२ हजार ४ सयमा खरिद गरी मेसिनबाट मल उत्पादन गर्ने प्रबिधि सञ्चालनमा ल्याएको हो । अहिले कुहिने फोहोरजन्य वस्तु मात्र प्रशोधन कार्य सुरु गरिएको छ । अब छिट्टै नै प्लाष्टिक काट्ने मेसिन भित्रिएपछि प्लाष्टिकजन्य पदार्थ पनि प्रशोधन गरेर नगरको प्रशस्त आयस्रोत भित्र्याउन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य बताउँछन् । रामपुरमा फोहोरमैला व्यवस्थापन नहुँदा फोहोर नै मुख्य समस्याका रुपमा रहेको र अब मेसिनबाट प्रशोधन गरेर मल उत्पादन सुरु भएपछि फोहोरजन्य पदार्थ नगरको राम्रो आयस्रोत बन्ने रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।

फोहोर प्रशोधन मेसिनबाट एक पटकमा पाँच क्वीन्टल फोहोरजन्य पदार्थलाई मेसिनले प्रशोधन गरी करिब १५ देखि २० प्रतिशत मल उत्पादन गर्न सकिन्छ । मासुजन्य, हड्डीजस्ता पदार्थ प्रशोधन हुनका लागि करिब २० घण्टा समय लाग्छ भने अन्य फोहोरजन्य पदार्थ करिब १० घण्टा देखि १५ घण्टा सम्ममा प्रशोधन भई मल उत्पादन गर्न सकिने उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेलले बताए ।

फोहोरजन्य नकुहिने पदार्थलाई नगरपालिकाले अन्यत्र बिक्री गर्ने तयारी गरेको छ । मेसिनबाट उत्पादन गरिएको मलले बालीनालीलाई राम्रो बनाउने गर्दछ । मेसिनबाट उत्पादन भएको मल २१ दिनपछि खेतबारीमा प्रयोग गर्न सकिने र त्यस मलबाट बालीनाली राम्रो हुने सुर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ बताउँछन् ।

नगरपालिकाभित्र निस्कने फोहोरमैला व्यवस्थापनका लागि विसं २०७१ मा रामपुर नगरपालिका ४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ । त्यहाँका केही स्थानीयको असमझदारीका कारण फोहोरमैला व्यवस्थापनको काम अगाडि बढ्न नसक्दा यस विषयमा पटक पटक आवाज उठीरहेका थिए । केही वर्षअघि रामपुर साना शहरी खानेपानी आयोजनाबाट फोहोरमैला व्यवस्थापन शीर्षकमा आएको रु एक करोड रकम काम गर्न नसकेर ‘फ्रिज’ भएर गएको नगरपालिकाले जनाएको छ । बेझाड बजार क्षेत्रबाट निस्कने फोहोरजन्य पदार्थ हरेक दिन टिपरमा सङ्कलन गर्ने गरिएको छ ।

बेझाड बजार क्षेत्रमा जनघनत्व बढी रहेकाले यहाँ दैनिक तीन टिपर जति फोहोरमैला निस्कने गर्छ । अहिले हरेक दिन कुहिने र नकुहिने फोहोर सङ्कलन कार्य भइरहेको छ । रामपुरका मुख्य बजारहरु बेझाड, विजयपुर, किसानवारी, बाङ्गेपसल, सदावर्त, देविस्थापन, ईस्लामपुरलगायत क्षेत्रमा दैनिक फोहोरजन्य पदार्थ निस्कने गर्दछ । रासस

Share This:
सम्बन्धित खबर
Loading...