२४ घण्टामा ३,४३९ जनामा कोरोना संकमण : सक्रिय संक्रमितकाे संख्या २५ हजार नाघ्यो

113

काठमाडौं । देशभरमा बुधबार तीन हजार ४ सय ३९ संक्रमित थपिएसँगै कुल सक्रिय संक्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६ सय ८४ संक्रमित थपिएको जानकारी दिए ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा एक हजार २ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २ सय ९ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार ४ सय ८५ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १ सय २६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६ सय ६८ रहेको छ । यो जम्मा संक्रमितमध्ये ७२ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार १ सय ६४ रहेको छ । देशभर सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ९६ संस्थागत आइसोलेसन र १४ हजार ४ सय ११ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित प्रदेश १ मा ५ सय ४६, प्रदेश २ मा ३ सय ३३, बागमती प्रदेशमा सात हजार ९ सय ८, गण्डकी प्रदेशमा ४ सय ४१, लुम्बिनी प्रदेशमा ८ सय ४२, कर्णाली प्रदेशमा ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा १ सय ७४ रहेका छन् । त्यस्तै होम आइसोलेनमा प्रदेश १ मा एक हजार ८ सय ४७, प्रदेश २ मा ५ सय ३०, बागमती प्रदेशमा नौ हजार १ सय ७२, गण्डकी प्रदेशमा ५ सय ६५, लुम्बिनी प्रदेशमा एक हजार ४ सय ७४, कर्णाली प्रदेशमा ३ सय १५ र सुदूरपश्चिम प्रदेशमा ५ सय ८ रहेका छन् ।

देशभरमा गरी २ सय ३३ संक्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा २७, प्रदेश २ मा १४, बागमती प्रदेशमा १ सय २७, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा एक जना आइसियुमा रहेका छन् । त्यस्तै भेन्टिलेटरमा रहेका संक्रमितको सङ्ख्या प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बागमती प्रदेशमा २५ र लुम्बिनी प्रदेशमा छ गरी जम्मा ३७ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८ सय ९६ कल प्राप्त भएको पनि डा गौतमले बताए ।

प्रवक्ता डा गौतमले काठमाडौं उपत्यकालगायत देशभरमा संक्रमितको सङ्ख्या दैनिक बढिरहँदा बिरामीले आफूलाई पायक पर्ने स्थानमा अस्पतालको शय्या नपाउने अवस्था भएको बताए । उपत्यकामा पछिल्लो समयमा चुनौती अझै थपिरहेको उनको भनाइ छ । सार्वजनिक स्थानमा भीडभाड बढ्नु, मास्कको सही प्रयोग हुन नसक्नुलगायतका हाम्रो व्यवहारका कारण जोखिम बढ्दै गएको उनले औँल्याए ।

धेरै नागरिकले दसैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा कोरोना बिर्सिए जसरी घर बाहिर निस्कन थालेको उनले बताए । कतिपयले सामान्य रुघाखोकी लाग्नासाथ अस्पताल गएको भन्दै उनले थप लक्षण देखिए मात्रै अस्पताल जान पनि सुझाव दिए । उनले भने, “सास फेर्न गाहे हुने, पिसाब फेर्न गाहे हुने वा पिसाब नै नहुने भएमा मात्रै अस्पताल जानुपर्छ ।”

सात जिल्लामा बढी र तीन जिल्लामा शून्य संक्रमित
आजसम्म देशभरका ७७ जिल्लामध्ये सात जिल्लामा संक्रमित ५ सय बढी छन् भने तीन जिल्लामा शून्य रहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । त्यस्तै संक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोललुखुम्बु रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...