युके भेरियन्ट सात गुणा संक्रामक

240

काठमाडौं । नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन्। गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरोना भेरियन्ट अघिल्लोको तुलनामा सात गुणा बढी मानिसलाई सर्न सक्छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा।बाबुराम मरासिनी भन्छन्, ‘अहिलेको युके भेरियन्टको संक्रमण दिनमै चौगुणा बढी देखिन्छ।’ यसले गर्दा दैनिक संक्रमित संख्या बढ्ने र संक्रमितहरूमा निमोनियासमेत हुने हुनाले अस्पतालमा भर्नादर बढ्ने स्थिति छ। ‘यही दरमा संक्रमण वृद्धि हुने हो भने केही दिनमै कोभिड अस्पतालमा बेड अभाव हुने स्थिति आउँछ’, डा. मरासिनीले भने, ‘जति धेरै संक्रमित उति नै अक्सिजन र भेन्टिलेटर सुविधासहितको अस्पताल चाहिन्छ।’ संक्रमितमा अक्सिजनको मात्रा घटेमा पनि अस्पताल नै भर्ना गर्नुपर्ने हुनाले अब सरकारले कोभिड अस्पताल निर्माणमा जोड दिनुपर्ने अवस्था आएको उनको सुझाव छ।

तीव्र गतिमा फैलिएको संक्रमणका कारण अस्पतालमा दैनिक भर्ना हुने दरमा समेत वृद्धि भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले बताए। ‘चाँडै धेरै बिरामी भर्ना भएका छन् । धेरैमा खोकी नलागे पनि निमोनिया भएको देखिन्छ’, उनले भने । भर्ना भएकामा निमोनिया र श्वास–प्रश्वासको समस्या बढी देखिएको छ।

दोस्रो लहर सुरु भएसँगै बालबालिका र युवामा संक्रमण बढिरहेको र उनीहरू उपचारमा समेत आइपुगेको डा। बास्तोलाले बताए। फागुनको अन्तिम सातादेखि वृद्धि भएको संक्रमण चैतदेखि तीव्र रुपमा फैलिएको थियो । संक्रमणमा वृद्धि भएसँगै मृत्युदर पनि बढ्न सक्ने डा। बास्तोला बताउँछन् । ५० वर्षमुनिका मानिससमेत आइसियुमा भर्ना हुने दरमा वृद्धि भएकाले गम्भीर बिरामीको संख्या बढ्ने सम्भावना रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्ण पौडेलले बताए।

दोस्रो लहरको संक्रमणको मृत्युदर कुन रुपमा हुन्छ भन्ने यकिन गर्ने समय अहिल्यै नभएको तर धेरै संक्रमित हुँदा मृत्युदर पनि बढ्ने सम्भावना रहेको पौडेलले स्पष्ट पारे। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दोस्रो लहरको कोरोनाबाट हुने मृत्युदर पहिलोको भन्दा कम छ। पश्चिमा देशमा कोरोनाको मृत्युदर २ देखि ३ प्रतिशत छ भने गत वर्ष नेपालमा १।२ प्रतिशत थियो।

डान्स क्लब, पार्टी, जुलुसमा बढी मात्रामा युवा सहभागी हुने हुनाले दोस्रो लहरको संक्रमण यो वर्गमा बढी देखिएको चिकित्सकको विश्लेषण छ । ‘युवा घरबाहिरको कामका साथै भिडभाड हुने स्थलमा बढी सहभागी भएको देखिन्छ’, मरासिनीले भने। सरकारले प्रदेश सरकारलगायत सम्बन्धित निकायसँग समयमै समन्वय गर्न नसक्दा दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएको डा. मरासिनीको विश्लेषण छ। कोरोना तथा कुनै पनि महामारी नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयमात्रैले सम्भव नहुने उनले बताए । अब धेरै बजेट चाहिने स्थिति आएको र त्यसका लागि अर्थ, खोपका लागि परराष्ट्र, भीड व्यवस्थापनका लागि सामान्य प्रशासन मन्त्रालय र यातायात विभागजस्ता निकायसँग समन्वय गर्नुपर्नेमा यो पक्षमा कमजोरी भएको उनले बताए। ‘अहिले हरेक वडा कार्यालय, यातायात कार्यालय र सार्वजनिक यातायातका साधनमा भीड नियन्त्रणभन्दा बाहिर छ। यता सरकारको ध्यान जान सकेको छैन’, उनले भने।

संक्रणदर २४.३७ प्रतिशत
गत २४ घन्टामा संक्रमण दर बढेर २४.३७ प्रतिशत पुगेको छ। यो दर अघिल्लो दिनको तुलनामा ४.९ प्रतिशत बढी हो । गत २४ घन्टामा परीक्षण भएका ९ हजार ९ सय ३४ नमुनामध्ये दुई हजार तप्न सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल नमुनामध्ये ८ सय ३ वटाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। कुल संक्रमितमध्ये एक हजार ५१ जना काठमाडौं उपत्यकाका छन्। अहिले देशभरिमा १० हजार ५ सय ५२ जना सक्रिय संक्रमित रहेकोमा ८ सय ३६ संस्थागत आइसोलेसन र बाँकी होम आइसोलेसनमा छन्। १ सय ८० जनाको आइसियु र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बितेको २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप १० जना मृतकमा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १२ पुगेको छ। नागरिक दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...