काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुक चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन् ।
शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्णको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले गरेको बलिदानीलाई उल्ट्याउँदै नेपाली समाजलाई जर्बजस्त पछाडी धकेल्ने उद्देश्यअनुरुप राज्य नै फाँसीवादी बाटोमा लागेको बताएका हुन् ।
“मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धी उल्ट्याउन खोजिएको छ ।” अध्यक्ष प्रचण्डले भने ।
उनले अहिले सरकारबाटै सुरु भएको प्रतिगमनतिरको यात्रा रोक्नु नै अहिलेको प्रमुख चुनौती रहेको बताए ।
“फुटाउ र राज गर भन्ने सामन्ती संस्कारका विरुद्ध धेरै लामो संघर्ष गर्यौँ, त्यसैको उपलब्धिका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ तर, अहिले त्यसैमाथि प्रहार गर्ने षड्यान्त्र भइरहेको छ ।” प्रचण्डले भने,“ त्यो षड्यन्त्रको व्याख्या गर्न अहिले मलाई समय छैन तर षड्यन्त्र भएको छ ।”