योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्र तुम्लिङ्टारमा बनाइने

192

खाँदबारी । योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार विकास समिति र सरोकारवाला ३ जिल्लाका स्थानीय सरकार प्रमुखहरुको भेलाले यो विश्वविद्यालयको केन्द्र तुम्लिङ्टारमा रहने निर्णय गरेको छ ।

आइतबार सङ्खुवासभाको खाँदबारी नगरपालिका कार्यालयमा भएको भेलाले यस्तो निर्णय गरेको हो ।

तुम्लिङ्टारको ढुङ्गेबिसौनास्थित सिंहदेवी आधारभूत विद्यालयको करिब २५ रोपनी जमिन र स्थानीयले उपलब्ध गराउन लिखित मञ्जुरी गरेको ५ सय ४७ रोपनी गरी जम्मा ५ सय ७२ रोपनी जमिनमा विश्वविद्यालयको केन्द्र रहने पूर्वाधार विकास समितिका अध्यक्ष प्राडा. अनुपकुमार श्रेष्ठले आज एक कार्यक्रमबीच जानकारी गराएका हुन् ।

विश्वविद्यालयको भौतिक संरचना निर्माण सम्पन्न नहुँदासम्म आधारभूत विद्यालयको भवनमा रहेर कार्य सञ्चालन गरिने श्रेष्ठले बताए । सङ्खुवासभा, भोजपुर र धनकुटा जिल्लाको केन्द्रभागमा पर्ने तुम्लिङटारमा हवाई यातायात र स्थल यातायातको व्यवस्था रहेकोले पनि यो ठाउँ छनौटमा परेको बताइएको छ । विश्वविद्यालय निर्माणका लागि भोजपुर जिल्लाको षडानन्द नगरपालिकाले पनि ५ सय ३१ रोपनी उपलब्ध गराउने लिखित मञ्जुरी दिइसकेको षडानन्द नगरपालिकाका प्रमुख बिरबल राईले जानकारी दिए ।

पूर्वाधार विकास समितिले योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्र निर्धारण, जग्गा प्राप्ति र पाठ्यक्रम निर्माण सम्बन्धमा आइतबार बिहान खाँदबारीको हिमालय किरण पब्लिक क्याम्पसबाट छलफल सुरु गरेको थियो । समितिले आज खाँदबारी नगरपालिका कार्यालयमा सरोकारवाला बुद्धिजीविहरुबाट सुझाव संकलन गरेको छ ।

छलफलमा सङ्खुवासभाका ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका, भोजपुरका २ वटा गाउँपालिका र एउटा नगरपालिकासँगै धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकासमेत सहभागी भएको छ ।

योगमाया आयुर्वेद विश्वविद्यालय व्यवस्थापनको लागि नेपाल सरकारले गत माघ २९ गते ७ सदस्यीय पूर्वाधार विकास समिति गठन गरेपछि सो समितिले यही चैत्र १ गतेबाट स्थानीयस्तरमा छलफल सुरु गरेको हो ।

सरकारले ९ सदस्यीय समिति गठन गर्ने घोषणा गरेको भएपनि समितिले पूर्णता पाउँन सकेको छैन ।

विश्वविद्यालयको जग्गा प्राप्त गर्न यसअघि नै निनु चापागाईको अध्यक्षतामा समिति गठन भएर काम गर्दै आएको थियो । यसरी छलफल गरिएका पालिकाहरुमा सङ्खुवासभाको मकालु गाउँपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र भोजपुर जिल्लाको षडानन्द नगरपालिका परेका थिए ।

श्राेतः रेडियाे सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...