रोल्पा, २८ साउन । थवाङ गाउँपालिका–५ कोटलबारामा गएराति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक जनाको शव फेला परेको छ ।
घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर, ६७ वर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगी बेपत्ताहरुको खोजीकार्यमा संलग्न रहेको जानकारी दिइएको छ ।