तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

13

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ ।

जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ ।

भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो । रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनुभएकी पोखरेलले यसअघि पार्टीको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनीतिक दलहरुमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रुपमा आफू निर्वाचित भएको दाबी गर्नुभयो ।

‘जेनजी’ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अगाडि बढाउन सक्दो प्रयास गर्ने उल्लेख गर्दै युवा नेत्री पोखरेलले भन्नुभयो, “मुलुकको सबैभन्दा ठुलो पार्टीको केन्द्रीय सदस्यमा विजयी भएसँगै आफ्नो जिम्मेवारी बढेको छ । यस अवसरमा मलाई विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित रास्वपाका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तक सबैलाई धन्यवाद भन्न चाहन्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...