कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

12

काठमाडौँ, ११ असार । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपाली उपभोक्ताले राहतको अनुभूति गर्न नपाएको बताउनुभएको छ ।

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आए पनि नेपाली उपभोक्ताले राहत पाउन नसकेको बताउनुभयो । “करिब ३० प्रतिशतभन्दा बढीले मूल्य घटिसक्दा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन नगर्दा आमनागरिक महङ्गो इन्धन किन्न बाध्य छन्”, उहाँले भन्नुभयो । कुनै समय प्रति ब्यारेल ११७.६३ डलर पुगेको कच्चा तेलको मूल्य हाल ६९.२१ डलरको आसपासमा झरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले नेपालमा इन्धनको मूल्यलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न ‘स्वचालित मूल्य प्रणाली’ लागु गरिएको भनिए पनि उक्त व्यवस्था लागु नभएको बताउनुभयो ।

पछिल्लो समय कच्चा तेलको मूल्यमा आएको यो गिरावटको लाभ तत्काल उपभोक्तालाई हस्तान्तरण गरी सुशासनको प्रत्यभूति गराउन उहाँले माग गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...