सागम र लप्से गाउँमा खानेपानीको पहुँच

12

भोजपुर, ८ असार । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी खानेपानी आयोजनामार्फत २६ घरमा एक एक धारा जडान भएको छ ।

यो योजनाबाट सङ्खुवासभाको खाँदबारी नगरपालिकामा पर्ने सागम र लप्से गाउँको पानीको समस्या हटेको हो । तीन स्कीममा निर्माण भइरहेको आयोजनाको पहिलो ‘स्किम’को काम सम्पन्न भएसँगै २६ घरमा पानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

गत वर्षबाट यो आयोजना निर्माणको काम थालिएको हो । यो आयोजनाको कुल अनुमानित लागत श्रमदानसहित छ करोड ८९ लाख रूपैयाँ रहेको कार्यालयका सबइन्जिनियर बेदराज बराइलीले जानकारी दिनुभयो ।

पानीको चरम अभाव रहेको यो स्थानमा घरघरमा धारा जडान गरिएपछि सहजता भएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले बताउनुभयो । बाँकी रहेका स्कीमको पनि काम समयमा सम्पन्न गराउन वडाले आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

आयोजनाको लागि वार्षिकरुपमा आउने बजेट न्यून भएको कारण योजनालाई चाँडो सम्पन्न गराउन समस्या देखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले बताउनुभयो । स्थानीयलाई चाँडो पानी खुवाउन यहाँ आउने बजेटलाई सरकारले बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

पहिलो स्किमबाट पानी वितरण थालिएपछि सहजता भएको स्थानीयवासी टेकबहादुर बगाले मगरले बताउनुभयो । घरमा धारा जडान भएपछि पानीको जोह गर्न आधारातमा कुँवा तथा पँधेरा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ ।

पानी वितरण भएपछि दैनिक सरसफाइदेखि घरायसी कामकाजमा सहज भएको स्थानीयवासी तारामाया राईले बताउनुभयो । घरघरमा पानी जडान भएपछि वर्षौंदेखिको पानीको समयमा अन्त्य भएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...