छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…

12

म्याग्दी, २८ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ ।

धैलागिरि गाउँपालिकाले सञ्चालन गरेको गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामा निर्माण व्यवसायीले त्रुटि गरेको भेटिएपछि भत्काएर पुनर्निर्माण गर्न लगाइएको हो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष झक छन्त्यालको टोलीले उक्त योजना अनुगमनका क्रममा मापदण्ड, ठेक्का सम्झौता र डिजाइनभन्दा फरक काम भएको पहिचान गरेको थियो ।

गाउँपालिकाका उपाध्यक्ष पुनमगरले स्थानीयको गुनासोपछि अनुगमनका क्रममा त्रुटि भएको नालाको खण्ड भत्काएर पुनर्निर्माण गर्न लगाएको जानकारी दिनुभयो । रड र फर्मा राखेर ढलान गर्नुपर्नेमा नालाको ढकनीमा ढुङ्गाको छपनी राखेपछि गिट्टी, बालुवा र सिमेन्ट राखेर ढलान गरेको भेटिएपछि करिब २० मिटर नाला भत्काएर पुनर्निर्माण गराएको उहाँले बताउनुभयो ।

सङ्घीय सरकारले चालु आर्थिक वर्षमा २५ लाख रूपैयाँ विशेष अनुदान उपलब्ध गराएको उक्त योजना निर्माणका लागि एसके कन्ट्रक्सनले २०८२ माघमा २२ लाख ९९ हजार ६०६ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

दुई सय ६० मिटर पक्की नाला निर्माण गर्नुपर्ने योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीका स्थानीय प्रतिनिधी कमल छन्त्यालले मजदुरहरुले काम गर्ने क्रममा डिजाइन नबुझेर छपनीमा ढलान गरेको स्विकार गर्दै कमजोरीलाई सुधार गरिएको बताउनुभयो ।

गुर्जा र चुरेन हिमालको फेदीमा समुद्री सतहदेखि दुई हजार ७०० मिटर उचाइमा रहेको गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६० घरपरिवारको बसोबास रहेको छ । गुजमुज्ज बाक्लो बस्ती रहेको गुर्जामा ढल व्यवस्थापन गरी सरसफाइ कायम गराउन आयोजना सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...