विपद्को प्रकृति र प्रवृत्ति मात्र होइन आवृतिमा पनि फेरबदल भइरहेको छ : प्रवक्ता महत

10
  • प्रमिला कार्की

काठमाडौँ, ९ वैशाख । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा जलवायु परिवर्तन, अनियन्त्रित विकास निर्माण र बदलिँदो मौसमी प्रणालीका कारण विपद् जोखिम अझ बढ्दै गएको जनाएको छ ।

पृथ्वी दिवसको अवसरमा नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी तथा वन डढेलो जस्ता विपद्‌बाट निरन्तर प्रभावित हुँदै आएको बताउनुभयो ।

उहाँका अनुसार पछिल्ला वर्षहरूमा यस्ता घटनाहरूको प्रकृति र आवृत्तिमा समेत उल्लेखनीय परिवर्तन देखिन थालेको छ । उहाँले भन्नुभयो, “नेपाल भूकम्पीय दृष्टिले मात्र होइन, बाढी–पहिरो र जलवायुजन्य जोखिमका हिसाबले पनि अत्यन्त संवेदनशील देश हो । भूकम्पबाट विश्वका अरू सबै मुलुकहरुका तुलनामा नेपाल अलिकति बढी जोखिममै छ । बाढी, पहिरो, डुबान, आगलागी लगायतका विपद्‌बाट पनि नेपाल बढी प्रभावित हुने गरेको र भइरहेको छ र हुने सम्भावना पनि त्यतिकै छ । अहिले विपद्को प्रकृति र प्रवृत्ति, होइन आवृतिमा पनि फेरबदल भइरहेको छ।”

महतका अनुसार केही वर्षयता तापक्रम वृद्धि, अनियमित वर्षा, आकस्मिक बाढी (फ्ल्यास फ्लड) र गर्मी लहर (हिट वेभ) जस्ता घटनाहरू बढ्दै गएका छन्, जसले कृषि, जनजीवन र पूर्वाधारमा प्रत्यक्ष असर पारिरहेको छ ।

उहाँले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मनसुन अवधिमा निरन्तर निगरानी र पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । प्राधिकरणले रियल टाइम डेटा विश्लेषण गरी नदी बेसिन, रेड जोन र ओरेन्ज जोनको अवस्थाबारे मूल्याङ्कन गर्दै सम्भावित जोखिम क्षेत्रका नागरिकलाई एसएमएसमार्फत पूर्वसूचना पठाउने व्यवस्था गरेको छ ।

जोखिम बढी हुने क्षेत्रमा समयमै सूचना पुग्दा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ । उहाँका अनुसार मनसुन कमाण्ड पोष्टमार्फत सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबिच समन्वय गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको छ ।

प्रवक्ता महतले नयाँ सरकार गठनपछि विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रमहरू अघि बढाइएको जानकारी दिनुभयो ।

गृहमन्त्रीको निर्देशनअनुसार प्राधिकरणले कामलाई तीव्रता दिइएको उल्लेख गर्दै उहाँले शासकीय सुधार कार्ययोजनामा समेत विपद् व्यवस्थापन क्षेत्र सुधारका विषयहरू समावेश गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको नयाँ सरकार गठन भएपछि चाहिँ झन् यो विषयलाई प्राथमिकता दिएर यसलाई तीव्रताका साथ अगाडि लैजान गृहमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छ ।” अहिले शासकीय सुधारको विषयमा कार्य योजना तयार छ, यसमा पनि विपद्को क्षेत्रमा पनि सुधार गर्नुपर्ने विषयहरु उल्लेख गरेका छन् ।

महतले नेपालमा आगलागीका घटनाहरू विशेषगरी तराई क्षेत्रमा बढी देखिएको बताउनुभयो । वन डढेलो केही हदसम्म घटे पनि घर तथा व्यक्तिगत सम्पत्तिमा हुने आगलागीका घटनाहरू बढ्दै गएको उहाँले जानकारी दिनुभयो । यद्यपि, वन डँढेलोका घट्ना भने घटेको छन् ।

उहाँले भन्नुभयो, “यस बर्ष वन डँढेलो घटेको देखिएको छ । किनभने गतवर्षको सुख्खा सिजनमा पानी नै परेन । हावाहुरी चल्ने, सानो आगोको झिल्काले पनि धेरै आगलागी भएर क्षति भएको थियो । यस पटक आगलागीका घटना बढी देखिएको छ । विशेषगरी तराई क्षेत्रहरुमा बढी देखिन्छ । घर र सम्पत्ति आगलागीका कारणले हुने क्षति बढ्दै गइरहेको छ ।”

त्यसैगरी, उहाँले विकास निर्माण र विपद् जोखिम न्यूनीकरणलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विकास निर्माणका काम गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य रूपमा गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकासका निर्माणको नाममा विपद् निम्तिने पनि गर्छ । विकास निर्माणका कामहरु, डोजर चलाउने, इआइए, आइइई गर्ने कुराहरुमा वातावरण संरक्षण प्राथमिकता राख्नुपर्छ । सडक निर्माण गर्दा नभत्किने, पछि पहिरो नजाने गरी बनाउनुपर्छ । जसरी मन लाग्यो त्यसरी अव्यवस्थित तरिकाले, प्राविधिक रुपमा फिजिबल छ कि छैन नहेरी काम गर्नु हुँदैन् । त्यसैले विपद् रोकथामका सन्दर्भमा सरकार नीतिगत रुपमा प्रष्ट छ । हामीले पनि त्यहीअनुसार नै काम गरिरहेका छौँ, नीति योजनाहरु बनाएका छौँ ।”

उहाँका अनुसार सरकारले ‘ग्रीन डेभलपमेन्ट’ अवधारणालाई प्राथमिकता दिँदै कार्बन उत्सर्जन कम गर्ने, वन–वनस्पति संरक्षण गर्ने र इकोसिस्टम सन्तुलन कायम राख्ने नीति अघि सारेको छ ।

प्रवक्ता महतले विपद् व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष जनचेतना भएको उल्लेख गर्नुभयो । विद्यालय तहदेखि नै विपद् शिक्षा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले भूकम्प, बाढी, पहिरो, डुबान र आगलागी जस्ता विपद्‌बाट बच्ने आधारभूत ज्ञान आम नागरिकमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँका अनुसार सञ्चार माध्यम, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत विपद्सम्बन्धी जानकारी निरन्तर प्रवाह भइरहेको छ ।

महतले अहिले विपद् व्यवस्थापन पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित हुँदै गएको बताउनुभयो । सूचना प्रवाह, अलर्ट प्रणाली, रिपोर्टिङ र समन्वय सबै डिजिटल माध्यमबाट भइरहेको उनले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार विपद् रोक्न नसकिने भए पनि सही पूर्वतयारी, समयमै सूचना प्रवाह र समुदायको सक्रिय सहभागिताले क्षति न्यूनीकरण गर्न सकिन्छ ।

पृथ्वी दिवसलाई उनले पृथ्वी संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकासको सन्देश दिने अवसरका रूपमा व्याख्या गर्नुभयो । पृथ्वी केवल मानवका लागि मात्र नभइ सम्पूर्ण जीवजन्तु, वनस्पति र इकोसिस्टमका लागि साझा घर भएको उल्लेख गर्दै उहाँले वातावरण विनाश नगरी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

महतले नेपालमा विपद् जोखिम उच्च भए पनि सरकार, सुरक्षा निकाय, स्थानीय तह र समुदायको सहकार्य तथा प्रविधिको उपयोगमार्फत जोखिम न्यूनीकरण सम्भव रहेको बताउनुभयो ।

उहाँले सबै नागरिकलाई सचेत, जिम्मेवार र पूर्वतयारीमा रहन आग्रह गर्दै जलवायु परिवर्तनसँग जुध्न सामूहिक प्रयास आवश्यक रहेको स्पष्ट पार्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...