ताप्लेजुङ ४ वैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड ९६ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनसार नौ महिमाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार ६०० रुपैयाँ भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । समितिका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी मङ्सिर महिनामा र सबैभन्दा कम भदौमा सङ्कलन भएको छ । मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपैयाँ र भदौमा ९ लाख ९७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।
यस्तै, चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपैयाँ, कात्तिकमा ३४ लाख ४८ हजार ५०० रुपैयाँ, असोजमा ३३ लाख ८२ हजार रुपैयाँ, पुसमा २४ लाख २५ हजार रुपैयाँ र साउनमा १० लाख ३९ हजार रुपैयाँ भेटी सङ्कलन भएको समितिले जनाएको छ ।
पाथीभरा दर्शनका क्रममा भक्तजनले चढाउने तथा दान गर्ने भेटी रकम समितिले सङ्कलन गर्दै आएको छ । पछिल्लो समय उक्त विवरण मासिक रूपमा सार्वजनिक गर्ने अभ्याससमेत सुरू गरिएको समितिले जनाएको छ । समितिका अनुसार नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गालबाट पनि पाथीभरा दर्शनका लागि भक्तजन आउने गरेका छन् ।