सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा

6

रामेछाप, २ वैशाख । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ ।

निर्माण व्यवसायीले समयमा काम नगर्दा सो सडक किनारका बस्ती तथा सडकमा गुड्ने यातायात साधन र यात्रीले हैरान खेपेका छन् ।

सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने स्थानीयले धुलो र हिलो खेप्नु परेको छ ।

सडकमा उड्ने धुलोले घरमा बसिन सक्नुको अवस्था आएको रामेछाप नगरपालिका–६ का राजु श्रेष्ठ बताउनुहुन्छ । यसैगरी सडक खनेर छाड्दा झर्ने पहिरोले बस्तीहरू जोखिममा परेका छन् भने सडकबाट फालेको ढुंगामाटोले धेरै बस्ती र जग्गाजमिनमा क्षति पुगेको छ ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजासम्म पुग्ने करिब ५२ किलोमिटर लामो सो सडक भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको हो । सडक निर्माणका जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टिसिआइएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरू भएको आयोजना २०२३ को मे १० भित्रै सकिसक्नु पर्ने हो । तर, अझै पनि सडकको बेस निर्माणको काम समेत सकिएको छैन । कुल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँको लागतमा सडक निर्माण गर्ने सम्झौता भएको थियो ।

निर्धारित समयमा काम नभएपछि सोही कम्पनीलाई फेरी म्याद थप गरिएको भए पनि कामले गति लिएको छैन । ठाउँ ठाउँमा केही काम भए पनि यही गतिले काम हुने हो भन अझै वर्षौँ लाग्ने अवस्था छ । सो निर्माण कम्पनीलाई छिटो काम गराउन सरकारले दबाब दिन सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...