भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

0

रामेछाप, १६ जेठ । जिल्लाको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।

बागमती प्रदेश सरकारको तीन करोड ३३ लाख ६५ हजार रूपैयाँको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले राससलाई जानकारी दिनुभयो ।

तीन वर्षअघिदेखि काम थालिएको उक्त पुलको पहिलेको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माणमा केही समय ढिला भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुनले राससलाई जानकारी दिनुभयो । पुल सम्पन्न भएपछि माडीसहित आसपासका क्षेत्रमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम र राजधानी काठमाडौँसम्म पुर्‍याउन सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

यसले नागरिकको आवागमन सहज हुनुका साथै उत्पादित कृषि उपजको बजारीकरण हुने खाँडादेवी गाउँपालिका–४ का स्थानीय खेमबहादुर खत्रीले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...