काठमाडौँ, १२ चैत । धर्म संस्कृतिका अध्येता एवम् ज्योतिष डा.देवेन्द्रप्रसाद पाठकले चैते दसैँ बडादसैँभन्दा विषेश पर्व भएको बताउनुभएको छ । उहाँले राम नवमी र चैते दसैँ एक आपसमा सम्बन्धित भएको पनि बताउनुभयो ।
नेपाल न्युज बैङ्कसँग कुराकानी गर्दै उहाँले राम नवमी र चैते दसैँ हिन्दु धर्मअनुसार मात्र नभइ वैदिक परम्पराअनुसार नै मनाइने गरेको बताउनुभयो । “चैते दसैँ र राम नवमी मनाइनु हिन्दु परम्परा मात्र होइन, वैदिक परम्परा नै हो । दसैँ मनाउने भन्नसाथै नवरात्रसँग जोडिन्छ । नवरात्र चारवटा हुन्छन् । एउटा शारदीय, अर्को वासन्तीय नवरात्र र दुईवटा गुप्त नवरात्र हुन्छ । त्यो भनेको एउटा माघको शुक्ल पक्षको नवरात्र र अर्को आषाढ शुक्ल पक्षको नवरात्र हुन् । त्यसमध्ये दुईवटा गुप्त नवरात्र चाहिँ मन्त्र सिद्धि वा तन्त्र सिद्धि गर्नेहरुको लागि विशेष दिन हो । शारदीय नवरात्र वा चैत्रको नवरात्र हिन्दु धर्मालम्बी र वैदिक सनातन धर्मालम्बीको लागि विशेष नवरात्र हो,” उहाँले भन्नुभयो ।
पारम्परिक रुपमा हेर्दा ठुलो दसैँ भनेकै चैते दसैँ भएको उहाँले बताउनुभयो । “वैदिक सनातन कालमा रामले रावणमाथि विजय प्राप्त गरेको, आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको वा रामको जन्मदिन र १४ वर्ष वनवास समेत सकेर अयोध्या प्रस्थान गरेको शुभमुहूर्तलाई मानेर खुसीयाली मनाउँदै, विजय दशमीका रुपमा मनाउने चलन सुरू भएको हो । त्यसकारणले शारदीय नवरात्रभन्दा यो चैत्र नवरात्र विशेष महत्त्वपूर्ण छ । र सांस्कृतिक रुपमा राज्यमा एकरूपता ल्याउन यो दसैँ अझै विशेष छ,” उहाँले भन्नुभयो ।
वैदिक सनातनअनुसार चैते दसैँ ठुलो मानिन्छ । तर, पछिल्लो समय राज्यले वडादसैँलाई विशेष बनाइदिएको डा.पाठकको भनाइ छ । अर्को कुरा भनेको हावापानी, खेतीपाती लगाउने र भित्र्याउने व्यस्तताअनुसार पर्व निर्धारण गरिएको उहाँको भनाइ छ ।
त्यतिमात्र नभएर विदेशमा गएका अथवा बाहिरबाट नेपाल आउनेहरुको अनुकुलता वा आवतजावत गर्ने शुभ समय नभएका कारणले पनि चैते दसैँलाई विशेष रुपमा नमनाइएको हुनसक्ने डा.पाठकको अनुमान छ ।
राज्यले नै जमरा राख्ने वा फुलपाती भित्र्याउने समय तोकिदिएकाले चैते दसैँमा प्रचलनमा नल्याइएको हुनसक्ने डा.पाठकले बताउनुभयो । घटस्थापना गर्ने, घडा थाप्ने, घटस्थापनादेखि नवरात्रको पूजा गर्ने, देवी आराधना गर्ने र विशेषगरी नवमीको दिन श्रीरामको जन्मदिन भएको हुनाले रामनवमी मनाउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।
श्रीराम १४ वर्ष वनवासबाट फिर्ती भएको दिन पनि भएको हुनाले हर्ष उल्लासका साथ मनाउने वा रावणले अपहरण गरेर निदाएको बेलामा बेहोस बनाएर पातालमा लगेर देवीलाई बली चढाउने योजना बनाएको प्रसँग पनि यस दिनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो ।
“त्यसबेला हनुमानको विशेष जुक्तिले घटना पत्ता लागेको र देवीको सहायता लिएर रावणकै वध गरेर राम र लक्ष्मणको मुक्ति पनि गराएको प्रसँग पनि यस पर्वसँग जोडिन्छ । त्यसैले पनि चैते दसैँ विशेष दसैँ हो,” उहाँले भन्नुभयो ।
विशेष त भरत राजाले राज्य गरेको क्षेत्रलाई भारत वर्ष भनिएको र त्यो क्षेत्र भनेको नेपाल, भारत वा अन्य स्थानहरू पनि रहेकाले भारत खण्डमा राम नवमी विशेष महत्त्वका साथ मनाइने गरेको उहाँले बताउनुभयो ।
वास्तवमा राम नवमीका दिन बिहानै स्नान गर्ने, पुजा कोठामा काठको एउटा पिर्का वा चौकीमाथि पहेलो बस्त्र राखेर, रामजीको मूर्ति अथवा सालिक राखेर मूर्ति अथवा फोटोको विशेष पूजा गर्ने चलन रहेको डा.पाठकले बताउनुभयो ।
नेपालमा आदिम कालदेखि नै चैत्र भनेको पवित्र महिना मानिने, रामको जन्म भएको महिनाका रुपमा मनाइने, रामायणको पाठ अनिवार्य गरिने, रामायणको कथा वाचन गर्ने वा पारायण लगाउने चलन रहेको उहाँले बताउनुभयो । रामायणको सुरूदेखिको अन्त्यसम्मको कथालाई एउटै श्लोकमा भन्ने चलन रहेको र त्यो सबैले वाचन गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।
चैते दसैँ र राम नवमी नेपालमा दुई तरिकाले मनाउने चलन रहेको उहाँले बताउनुभयो । “आर्यहरुले मनाउने तरिका एउटा छ । त्यसमा पुजारीमार्फत पूजा–पाठ अनि प्रसादीहरु चढाएर, रामको कीर्तन गरेर, पारायण लगाएर मनाउने चलन छ । अन्य केही शिकारी जातिहरुले धनुष चलाएर अथवा बलि दिएर पनि मनाउने गर्छन् । राम नवमी मनाउने परम्परा नेपालमा पनि विद्यमान छ,” उहाँले भन्नुभयो ।
भारत खण्डभित्र नै रामको जन्म भएको मानिए पनि कुनै प्रमाण आजसम्म लिखित रुपमा नपाइएको उहाँले बताउनुभयो । “रामको जन्मका बारेमा धार्मिक र सांस्कृतिक रुपमा विचलन आउने किसिमका कुराहरू बोल्नु उचित हुँदैन । किनभने राम अयोध्यामा जन्मेका थिए भनेर केही प्रमाणहरू पनि छन् । जसरी बुद्ध नेपालमा जन्मेका हुन् भनिरहेका छौँ । रामलाई पनि त्यस्तै मिथक बनाएर अथवा त्यस्तै कथा बनाएर यहाँ जन्मेका थिए भनेर एउटा कथाको आधारलाई मानिएको छ । किनभने राम अयोध्यादेखि जन्ती लिएर नेपाल आउन सम्भव थियो होला त भन्ने प्रश्न पनि छ । त्यसकारण कुनै एउटा नयाँ मिथक सिर्जना गरेर राम नेपालमा जन्मेका थिए भन्ने कुरामा धेरै अल्झिनु सान्दर्भिक छैन । राम भनेका साझा हुन्,” उहाँले भन्नुभयो । –नेपाल न्युज बैङ्क