- सन्तोषी रावल
हरेक वर्ष मार्च २० मा मनाइने विश्व खुसी दिवसले मानिसलाई खुसीको वास्तविक अर्थ र महत्त्वबारे पुनः सोच्न प्रेरित गर्छ । खुसी केवल अनुहारमा देखिने मुस्कान मात्र होइन, यो मानिसको अन्तरआत्माको सन्तुष्टि, आशा र जीवनप्रतिको सकारात्मक दृष्टिकोणसँग जोडिएको गहिरो अनुभूति हो । तर, नेपालजस्तो देशमा खुसी व्यक्तिगत भावना मात्र नभइ सामाजिक, आर्थिक र राजनीतिक अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय बनिरहेको छ । यहाँका नागरिकले दैनिक जीवनका साना–साना क्षणहरूमा खुसी खोज्ने प्रयास गरे पनि समग्र परिवेशले त्यो अनुभूति दिगो रूपमा कायम राख्न सकेको देखिँदैन ।
उदाहरणकै लागि प्रसंग जोड्नुपर्दा विनाशकारी गोरखा भूकम्प २०७२ ले नेपाली समाजमा गहिरो मानसिक र भावनात्मक असर छोडेको थियो र छ । धेरै मानिसका मन अझै पनि पीडाले भरिएका छन् । बाहिरबाट हासो देखिए पनि भित्रको पीडा अझै मेटिएको छैन । तर, हास्नु मानव जीवनको प्राकृतिक र आवश्यक पक्ष हो । त्यस्तै, प्राकृतिक विपत्ति, कोभिडजस्ता महामारीहरुले मानिसको खुसी खोस्ने गर्छ र पीडा दिने गर्छ । त्यस्तो बेला खुसी कसरी फर्काउने भन्नु मुख्य चुनौती बन्ने गरेको छ ।
बाटोमा हिँड्दै गरेको कुनै व्यक्ति एक्लै हास्दा त्यसले अरूलाई पनि प्रभावित बनाउँछ । समूहमा हास्ने मानिसहरूबिच मिसिँदा अपरिचित व्यक्ति पनि सहजै हास्न थाल्छ । यसले देखाउँछ कि हासो संक्रामक हुन्छ, र यसले मानिसबिच सम्बन्ध र आत्मीयता बढाउँछ ।
साँचो कुरा के हो भने, हास्न सिक्नु पर्दैन । यो जन्मजात स्वभाव हो । नवजात शिशुले पनि बिना कारण मुस्कान दिन सक्छ । समाजमा हासोका विभिन्न रूप देखिन्छन् कसैले खुसीले, कसैले तनाव कम गर्न, त कसैले केवल बानीले हास्ने गर्छन् । कतिपय मानिसको हाँसो अरूका लागि आकर्षणको विषय पनि बन्छ । हाँसो केवल भावना होइन, सामाजिक अन्तरक्रियाको एउटा महत्त्वपूर्ण माध्यम पनि हो ।
तर, पछिल्लो समय नेपाली समाजमा राजनीतिप्रति बढ्दो निराशाले मानिसको मनोविज्ञानमा नकारात्मक असर पारिरहेको छ । बारम्बार राजनीतिक परिवर्तनका प्रयास भए पनि अपेक्षित परिणाम नआउँदा जनतामा असन्तुष्टि बढ्दै गएको छ । नयाँ अनुहार र नयाँ पार्टीप्रति आशा त देखिन्छ, तर ती आशा व्यवहारमा कति पूरा हुन्छन् भन्ने प्रश्न अझै अनुत्तरित छ । यसले जनतालाई केवल नेतृत्व परिवर्तन होइन, नतिजामुखी शासनको आवश्यकता महसुस गराएको छ ।
नेपाली जनता साँचो अर्थमा खुसी तब हुन्छन्, जब उनीहरूले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउँछन् । आज हजारौँ युवा विदेशिन बाध्य छन् । जसले परिवार, समाज र राष्ट्रलाई दीर्घकालीन असर पारिरहेको छ । यदि स्वदेशमै अवसर सिर्जना गरिएर युवालाई आत्मनिर्भर बन्ने वातावरण निर्माण गर्न सकियो भने त्यो नै खुसीको सबैभन्दा ठुलो आधार बन्न सक्छ । आर्थिक स्थिरता र आत्मसम्मानले मानिसको जीवनमा स्थायी सन्तुष्टि ल्याउँछ ।
यससँगै देशमा शान्ति, स्थिरता र सुरक्षाको अनुभूति हुनु पनि नागरिकको खुसीका लागि अत्यन्त आवश्यक छ । जब मानिसले आफू सुरक्षित महसुस गर्छन्, तब मात्र उनीहरू स्वतन्त्र रूपमा आफ्नो जीवन जिउन सक्छन् । तर, समाजमा विद्यमान अन्याय, हिंसा र कु–प्रथाले यो अनुभूतिलाई कमजोर बनाइरहेको छ । विशेषगरी बलात्कारजस्ता जघन्य अपराधहरूले समाजमा भय र आक्रोश सिर्जना गरेका छन् ।
यस्ता अपराधको अन्त्य, पीडितलाई न्याय र दोषीलाई कडा दण्ड सुनिश्चित गर्नु राज्यको प्रमुख जिम्मेवारी हो । जब नागरिकले न्याय पाउँछन्, तब मात्र उनीहरूको राज्यप्रति विश्वास बलियो बन्छ । न्यायपूर्ण समाजले मात्र दिगो खुसीको आधार तयार गर्न सक्छ । अन्यथा, असमानता र अन्यायले मानिसको मनमा निराशा र असन्तुष्टि बढाउँदै लैजान्छ ।
सामाजिक कुप्रथाहरूको अन्त्य र सकारात्मक सोचको विकास पनि खुसीको महत्त्वपूर्ण आधार हो । शिक्षा, जनचेतना र समानताको अभ्यासले मात्र समाजलाई सही दिशामा अघि बढाउन सक्छ । जब मानिसहरूले एकअर्कालाई सम्मान गर्न सिक्छन् र सहकार्यको भावना विकास हुन्छ, तब समाजमा समृद्धि र सन्तुष्टि दुवै बढ्छन् ।
खुसी व्यक्तिगत अनुभूति मात्र होइन, यो राम्रो शासन, न्यायपूर्ण समाज र आर्थिक अवसरहरूको समिश्रण हो । नेपालमा खुसीको वास्तविक आधार तब निर्माण हुनेछ, जब राजनीति उत्तरदायी, समाज समावेशी र नागरिक भविष्यप्रति आशावादी हुने वातावरण सिर्जना हुने छ । त्यसैले विश्व खुसी दिवसको सन्देश स्पष्ट छ । हामीले खुसी खोज्ने होइन, सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्छ । –नेपाल न्युज बैङ्क