काठमाडौँ, २३ वैशाख । एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकोप्टर मौसमको प्रतिकूलताका कारण ४ हजार ४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो । हेलिप्याडमा एक जना व्यक्ति हेलिकोप्टरलाई इसारा गर्दै, सामान मिलाउँदै, इन्धन भर्दै थिए ।
उनी सामान्य हेली सहयोगी जस्ता देखिन्थे । तर, वास्तविकतामा उनी थिए नेपालकै प्रतिष्ठित ट्रेकिङ तथा ‘सेभेन समिट एक्स्पिडिसन’का मालिकमध्येका एक, टासी शेर्पा ।
मेरो हातमा क्यामेरा देखेर हो कि के हो ? हेर्नुहोस् न हाम्रो जिन्दगी त यस्तै छ । मान्छेहरु काठमाडौँ बसेर अनेक टीकाटिप्पणी गर्छन् । कति पत्रकार र कर्मचारीलाई आधार शिविरसम्म पुर्यायो, नेपाली हो भनेर सहयोग गर्यो अनि कति नेपालीहरुलाई स्वास्थ्य समस्या हुँदा हेलीमा तल पुर्याइदियो । तर, जति सहयोग गरेपनि काठमाडौँ पुगेपछि हाम्रै बारे उल्टो र नकारात्मक कुरा लेख्नछन् । राज्यलाई वार्षिक रुपमा करिब १ अर्ब ५० करोड रूपैयाँ वार्षिक रुपमा कर तिर्छौँ होला । तर, तिरेको करको एक प्रतिशत (१२ करोड) पनि हाम्रो हातमा बच्दैन ।
करिब एक घन्टाको बसाइमा धेरै कुरा गर्न सम्भव थिएन । ठुलो कम्पनी भएकाले कमजोरी पनि हुन सक्छन्, आफ्नो कमजोरीलाई स्वीकार्दै एक जना वास्तविक सञ्चार विज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ होला भन्ने सुझाव दिँदा दिँदै लुक्ला एयरपोर्टको लागि हेलिकोप्टर तयार भयो । बिदाईमा उनको हात हल्लाई र मुस्कान दुवै सुमधुर थियो ।
दुई दिन लुक्लाको हेलिप्याडमा काठमाडौँका लागि हेलिकोप्टर कुर्दा कुर्दै वितेपछि तेस्रो दिन समिट एयरको जहाजबाट काठमाडौँ पुगे पनि मलाई उनी र उनको कम्पनिप्रति कुनै गुनासो गर्न मन लागेन ।
तर, यसरी वास्तविक कार्यक्षेत्रमै गएर कामलाई सानो–ठसलो नभनी, कर्मलाई धर्म मान्ने यिनको वास्तविक चरित्रले भने मोहित बनायो ।
(लेखक विष्णु घिमिरे ‘कल्पित’ नेपाली चलचित्रका वरिष्ठ छाँयाकार हुनुहुन्छ ।)