मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन समग्र स्वास्थ्य निर्धारण गर्छ [भिडिओ]

35
  • प्रमिला कार्की

काठमाडौँ, ६ फागुन । आज विश्व मुख स्वास्थ्य दिवस । हरेक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजनागरी मनाइन्छ । मुख र दाँतको स्वास्थ्यबारे जनचेतना फैलाउन, रोगहरू रोकथाम गर्न र स्वस्थ्य बानी व्यवहार अपनाउन प्रेरित गर्ने यस दिवसको मुख्य उद्देश्य हो ।

नेपाल न्युज बैङ्कसँगको विश्व मुख स्वास्थ्य दिवस विशेष कुराकानीमा दन्त चिकित्सकहरूले मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूका अनुसार मुख स्वास्थ्य केवल दाँत वा गिजासम्म सीमित विषय नभइ समग्र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण पक्ष हो । दन्त चिकित्सक काजल ठाकुरका अनुसार मुख स्वास्थ्यलाई शरीरको अन्य भागभन्दा अलग रूपमा बुझ्नु गलत हो । “मुख हाम्रो शरीरकै अभिन्न हिस्सा हो, त्यसैले यसको स्वास्थ्यले सम्पूर्ण शरीरको स्वास्थ्यमा प्रभाव पार्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार मुखभित्र हुने संक्रमणहरू रक्तप्रवाहमार्फत शरीरका अन्य अंगसम्म पुग्न सक्छन्, जसले मुटुजस्ता संवेदनशील अंगमा समेत असर पार्न सक्छ ।

उहाँले नेपालमा मुख स्वास्थ्यको अवस्था क्षेत्रअनुसार फरक रहेको बताउनुभयो । सहर क्षेत्रमा जनचेतना बढ्दै गइरहेको र मानिसहरू नियमित चेकअप तथा उपचारतर्फ सचेत बन्दै गएका छन् । तर, ग्रामीण क्षेत्रमा अझै पनि मुख स्वास्थ्यबारे पर्याप्त जानकारी नपुगेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा क्षेत्रको हिसाबले हेर्दाखेरि सहरतिर अलिकति राम्रो हुँदै गएको छ । तर, गाउँतिर अहिले पनि त्यस्तै नै छ । हामीले भर्खरै बिकट गाउँमा गएर हेर्‍यौँ, त्यहाँ एकदमै खराब अवस्था छ । पेसेन्टहरुलाई दैनिक दुई पटक ब्रस गर्नुपर्छ भन्ने कुरा पनि राम्ररी थाहा हुँदैन । सहरतिर बिरामीहरु सचेत हुनुहुन्छ भने गाउँतिर अझैसम्म राम्ररी अवेयरनेस पुगेको छैन । त्यहीँ भएर सहरमा अलि कम हुँदै गइरहेको छ ओरल हेल्थ । गाउँतिर चाहिँ बढ्दै नै गइरहेको छ ।”

ठाकुरका अनुसार ग्रामीण क्षेत्रमा गिजासम्बन्धी रोगहरू बढी देखिन्छन् । गिजा सुन्निने, दाँत हल्लिने र अन्ततः झर्ने जस्ता समस्या सामान्य छन् । यसको मुख्य कारण मुखको सरसफाइमा ध्यान नदिनु हो ।

यता, सहर क्षेत्रमा प्रशोधित खानेकुरा र चिनीको बढी सेवनका कारण दाँतमा किरा लाग्ने समस्या बढी देखिएको उहाँले बताउनुभयो ।

मुख स्वास्थ्यअन्तर्गत पर्ने रोगहरूबारे उहाँले दाँतमा किरा लाग्ने, दाँतको क्षय, गिजा रोग, दाँत घिस्रिने, जिब्रोसम्बन्धी समस्या तथा मुख क्यान्सर प्रमुख रहेको जानकारी दिनुभयो ।

विशेषगरी गुट्खा, खैनी, सुपारी तथा धुम्रपान गर्ने व्यक्तिहरूमा मुख क्यान्सरको जोखिम अत्यधिक हुने उहाँले चेतावनी दिनुभयो ।

त्यसैगरी डेन्टल सर्जन मोनिका सैजुले पनि मुख स्वास्थ्यका बारेमा जनचेतना फैलाउनु अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अधिकांश मानिसहरू दुखाइ नभएसम्म दन्त चिकित्सककहाँ नजाने प्रवृत्ति रहेको छ, जसले गर्दा रोग जटिल भइसकेपछि मात्र उपचारमा आउने अवस्था देखिन्छ ।

उहाँले भन्नुभयो, “मुखमा पहिलो समस्या भनेको दाँत किराले खाने हो । कुहिइ सकेको नभएसम्म दुख्दैन । नसासम्म नै नखाएसम्म दाँत दुख्ने भन्ने हुँदै न। जसका कारण अर्थात् नदुखेसम्म चेकअपको लागि आउनु हुँदैन । मुखको क्यान्सरको पनि समस्या हुने गरेको छ । जुन प्राय मान्छेहरूले थाहा पाउँदैनन् । गिजा सुन्निने, इन्फेक्सन हुने समस्याहरु पनि हुने गरेका छन् । डायबिटिजहरू वा स्वास्थ्यको सम्बन्धित अरू बडीको सिस्टमसँग रिलेटेड रोगहरूका कारण पनि मुखमा समस्या देखिन सक्छ ।”

उहाँले सामान्य व्यक्तिहरूले प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउनुपर्ने सुझाव दिनुभयो । साथै, मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग भएका व्यक्तिहरूले अझ बढी ध्यान दिनुपर्ने र ३–६ महिनामा नियमित जाँच गराउनु आवश्यक रहेको उहाँले बताउनुभयो । मुख स्वास्थ्य जोगाउन दिनमा कम्तीमा दुई पटक दाँत माझ्ने, राति सुत्नुअघि अनिवार्य रूपमा ब्रस गर्ने, डेन्टल फ्लस प्रयोग गर्ने र पर्याप्त पानी पिउने बानी बसाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

साथै, चिनी र प्रशोधित खानेकुराको सेवन कम गर्ने, फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्ने र नरम ब्रस छनोट गर्ने पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

सैजुका अनुसार पछिल्लो समय दन्त उपचारमा प्रविधिको प्रयोग बढ्दै पनि गएको छ । इन्ट्राअरल स्क्यानर, डिजिटल एक्स–रेजस्ता आधुनिक उपकरणहरूले रोग पहिचान र उपचारलाई सहज बनाएको छ । यस्ता प्रविधि ग्रामीण क्षेत्रमा समेत विस्तार गर्न सके मुख स्वास्थ्य सुधारमा ठुलो टेवा पुग्ने उनको विश्वास छ ।

ग्रामीण क्षेत्रमा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अझै कमजोर रहेकाले स्वास्थ्य शिविर, विद्यालयस्तरीय कार्यक्रम तथा डिजिटल माध्यममार्फत जानकारी प्रवाह गर्न आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । उपचारभन्दा पनि रोकथाममा जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।

समग्रमा, मुख स्वास्थ्यलाई बेवास्ता गर्दा यसले गम्भीर शारीरिक समस्या निम्त्याउन सक्ने भएकाले समयमै सचेत भएर नियमित हेरचाह र परीक्षण गर्न चिकित्सकहरूले सबैलाई आग्रह गरेका छन् । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...