छन्द लेखन केवल कविता होइन, सभ्यता र संस्कृतिको संरक्षण पनि हो : कवि न्यौपाने

4
  • प्रमिला कार्की

काठमाडौँ, ८ वैशाख । साहित्य केवल भावना अभिव्यक्त गर्ने माध्यम मात्र होइन, त्यसलाई सुन्दर, प्रभावकारी र दीर्घकालीन बनाउने एउटा विधि पनि हो, जसलाई छन्द भनिन्छ । छन्दले शब्दलाई लय, मात्रा, नियम र अनुशासनमा बाँधेर साहित्यलाई अझ सशक्त बनाउँछ । यही कारण छन्दलाई साहित्यको मेरुदण्ड र लेखनको आधार मानिन्छ ।

छन्द कवि चन्द्रप्रसाद न्यौपानेले छन्द भनेको केवल कविता लेख्नेशैली मात्र नभइ जीवन, सृष्टि र अनुशासनसँग जोडिएको गहिरो नियम भएको बताए । छन्द दिवसको अवसरमा नेपाल न्युज बैङ्कसँग कुरा गर्दै उहाँले छन्दलाई ‘नियमको शासन’ र ‘साहित्यको संविधान’ का रूपमा व्याख्या गर्नुभयो ।

उहाँका अनुसार छन्द लेखनको एउटा यस्तो विधि हो, जसमा निश्चित नियम, लय, मात्रा र संरचनाभित्र रहेर भाव अभिव्यक्ति गरिन्छ । जसरी एउटा राज्य सञ्चालनका लागि संविधान र कानुन आवश्यक हुन्छ, त्यसरी नै साहित्य सिर्जनामा छन्द आवश्यक हुने उहाँले बताउनुभयो । “छन्द भनेको एउटा नियम विधिको शासन जस्तै हो । सिंगो ब्रह्माण्डको सृष्टि पनि छन्दोमय छ । सबै कुरा मिलेको छ, काँटछाँट मिलेको छ, त्यहीँ नै छन्द हो,” उहाँले भन्नुभयो ।

न्यौपानेका अनुसार छन्दको इतिहास हजारौँ वर्ष पुरानो छ । उहाँले विश्व साहित्यको सबैभन्दा प्राचीन स्वरूप नै छन्द भएको उल्लेख गर्दै पूर्वीय साहित्यका चार वेद- ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद- समेत छन्दमै रचना गरिएको बताउनुभयो । वेदमा करिब ८४–८५ प्रकारका छन्द प्रयोग भएको उल्लेख गर्दै उहाँले संस्कृत साहित्यको लगभग शतप्रतिशत सिर्जना छन्दमै भएको बताउनुभयो ।

उहाँले रामायण, महाभारत, १८ पुराण, उपपुराणदेखि कालिदाससम्मको साहित्यिक परम्परा छन्दमा आधारित रहेको स्मरण गर्नुभयो । “पूर्वमा व्यास र पश्चिममा होमर- दुवैतर्फ छन्दमा लेख्ने परम्परा थियो । त्यसैले छन्द विश्वकै सर्वश्रेष्ठ प्राचिन साहित्य हो,” उहाँले भन्नुभयो ।

छन्दमा लेख्नका लागि वर्ण, लघु–गुरू, मात्रा र सूत्रको ज्ञान आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । नेपाली र संस्कृत भाषाका स्वर–व्यञ्जनको संरचना बुझेर मात्र छन्द लेख्न सकिने उहाँको भनाइ छ । “अ, इ, उ, ऋ जस्ता लघु वर्ण र बाँकी दीर्घ वर्णलाई मिलाएर सूत्र बनाइन्छ । त्यसैअनुसार कविता बन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

यसैगरी कवि न्यौपानेले छन्दमा भाव अभिव्यक्ति अत्यन्त सशक्त हुने बताउँदै एउटा सामान्य वस्तुबाट पनि महाकाव्य सिर्जना गर्न सकिने उहाँले उदाहरण दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटा सिसाको गिलासको मात्रै पनि महाकाव्य लेख्न सकिन्छ । त्यो कहाँ बन्यो, कसरी बन्यो, पृथ्वीको उत्पत्तिसँग यसको सम्बन्ध के छ- कल्पना गर्दै जाँदा विशाल साहित्य बन्छ ।”

छन्दले कविलाई कल्पनाभन्दा बाहिर गएर इतिहास, वर्तमान र भविष्यलाई एउटै रचनामा बाँध्न सक्ने क्षमता दिने उहाँको भनाइ छ । न्यौपानेले छन्दलाई ट्राफिक नियमसँग तुलना गर्दै नियमभित्र बसेर लेख्दा साहित्य परिपक्व हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भाव अभिव्यक्ति अरू साहित्यमा जति सम्भव छैन, छन्दमा त्यति व्यापक रूपमा गर्न सकिन्छ । रातो बत्तीमा रोकिनुपर्छ, हरियोमा जानुपर्छ । त्यसरी नै छन्दमा पनि नियम तोड्न पाइँदैन । नियममा बस्यो भने दुर्घटना हुँदैन ।”

उहाँको अुनसार राम्रो छन्द कविता लेख्नका लागि व्यापक अध्ययन आवश्यक छ । कवि अध्ययनशील, संवेदनशील र समाजको दुवै पक्ष बुझ्नसक्ने हुनुपर्ने उहाँको बुझाइ छ ।

उहाँले भन्नुभयो, “राम्रो छन्द कविता बनाउनका लागि सबैभन्दा पहिला वर्णको ज्ञान हुनुपर्‍यो । त्यसपछि भाव कसरी व्यक्त गर्ने अभिव्यक्त गर्ने अनुभव हुनुपर्‍यो अब तपाई केका बारेमा लेख्ने त्यसको लागि व्यापक अध्ययन चाहियो । समग्रमा त्यो सर्वव्यापक अध्ययन हुनुपर्छ । छन्दमा कविता लेख्ने मान्छे पूर्ण अध्ययनमा राम्रो कविता लेख्न सक्छ भने संसारका जुनसुकै साहित्य पनि ऊ निडर र निर्भिक भएर लेख्नसक्छ ।”

उहाँले छन्दलाई आधुनिक, मध्यकालीन वा प्राचीन भनेर विभाजन गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक समय प्राचिन समय मध्य समय भन्ने केहि पनि हुँदैन । छन्द भनेको सदाबहार हो । सृष्टिदेखि अन्त्यसम्म आदिदेखि अनन्त भन्छ । अनन्त भनेको कहिलेसम्म धर्ती रहन्छ, कहिलेसम्म ब्रह्माण्ड रहन्छ तबसम्म त्यो छन्द रहन्छ । छन्द भनेको त त्यो एउटा विधि हो । स्वतस्फूर्त आएको प्राकृतिक नियम हो। छन्दको अन्त्य नै छैन । यो कसैले हटाएर हट्ता पनि हट्ने होइन । प्राकृतिक अनन्तसम्म छन्द रहिरहन्छ ।”

शिक्षा प्रणालीमा छन्दको महत्त्व घट्दै गएकोमा उनले चिन्ता व्यक्त गर्नुभयो । विद्यालयका पाठ्यक्रममा छन्दवद्ध कविता अझै रहेपनि त्यसको गहिरो अध्ययन गराउने शिक्षक अभाव भएको उहाँले बताउनुभयो ।

“पहिला नेपाली शिक्षकले सबै ज्ञान दिन सक्थे, अहिले त्यस्तो अवस्था छैन । बोर्डिङ विद्यालयमा पश्चिमी संस्कृतिको प्रभाव बढ्यो । अङ्ग्रेजीलाई नै सबैभन्दा ठुलो कुरा ठानियो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अङ्ग्रेजी भाषा केवल व्यवहार र अन्तर्राष्ट्रिय संवादका लागि आवश्यक हो, तर आफ्नै भाषा, संस्कृति र साहित्यलाई बेवास्ता गर्नु गलत हो । “हाम्रा गौतमबुद्ध, सीता, भृकुटीबारे पढ्नुपर्ने हामीले अङ्ग्रेजकै इतिहासमा मात्र किन हराउने ?” उहाँले प्रश्न गर्नुभयो ।

छन्दलाई उहाँले संस्कृति र पहिचानसँग जोड्दै भन्नुभयो, “छन्द पनि संस्कृति हो । साहित्य, कला र संस्कृति एउटै हुन् । आफ्नो भाषामाथि हामी आफैँले आक्रमण गरिरहेका छौँ ।”

छन्द दिवसबारे बोल्दै उहाँले वैशाख ८ गतेलाई नेपाल सरकारले आधिकारिक रूपमा ‘छन्द दिवस’ घोषणा गरेको जानकारी दिनुभयो । पोखराका साहित्यकार माधव वियोगीको पहलमा नेपाल पञ्चाङ्ग समितिले उक्त दिनलाई क्यालेन्डरमा समावेश गरेको उहाँले बताउनुभयो ।

“छन्द दिवस भनेको छन्दको महत्त्व सम्झने दिन हो । सृष्टि नै छन्द हो, यसलाई बिगार्नु हुँदैन भन्ने सन्देशका साथ यो दिवस मनाइन्छ,” उहाँले भन्नुभयो ।

उहाँले नयाँ पुस्तालाई कम्तीमा एउटा श्लोक, दुई पाउ, चार पाउ जति भएपनि छन्दमा लेख्न आग्रह गर्नुभयो । उहाँले सबैलाई छन्द दिवसमा आफ्नै भाषा, संस्कार र संस्कृतिलाई जोगाउन छन्द लेख्न आग्रह गर्नुभयो ।

“प्रेम, राजनीति, समाज, कुनैपनि विषयमा लेख्नुस् तर लेख्नुस् । एउटा कविता, एउटा श्लोक भएपनि लेख्नुहोस् । आफ्नो देशको संस्कार र संस्कृतिलाई बचाउनुहोस्,” उहाँले सन्देश दिनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...