मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

14

इलाम, १० वैशाख । विसं २०५० मा हरि बहादुर तामाङले पसल सुरू गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भिडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरू थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आउनुभएको छ ।

स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउनुहुन्छ । पचासदेखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किन्नुभयो । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोड्नुभयो । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्‍यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबिएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ ।

“झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जोडेका जमिनहरु त्यतिबेलाकै व्यापारले हो ।” उहाँ भन्नुहुन्छ, “०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरू गरेँ । महिनाको २०० रूपैयाँ भाडा तिर्नुपथ्र्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरुलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।”

अहिले पनि उहाँको पसल (जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्नुहुन्छ, “महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।” उहाँको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । “जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबिएस पढ्दै छिन् । मलाई सन्तोष छ ।” छोरीहरूको पढाइका लागि उहाँले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताउनुभयो ।

समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य पाँच रूपैयाँबाट बढेर १५० रूपैयाँ पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उहाँ भन्नुहुन्छ, “प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।”

विसं २०४२ तिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाउनुहुन्थ्यो । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बन्नुभएको थियो । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरू गरेको उहाँ बताउनुहुन्छ । आज पनि उहाँ पसलमै व्यस्त हुनुहुन्छ । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । “काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन्,” उहाँ भन्नुहुन्छ ।

ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपथ्र्यो । “बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन् ।” गोर्खेका ७६ वर्षीय वीर बहादुर राईले सुनाउनुभयो, “अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।” –रासस

Share This:
सम्बन्धित खबर
Loading...