देउवा र गगनबिच फरक छैन, सम्वाद गर्ने परिपाटी नै छैन : इन्दु प्रकाश शर्मा

9

काठमाडौँ, १० वैशाख । नेपाली काङ्ग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरूबिच अन्तरद्वन्द्व सुरू हुने दाबी गर्नुभएको छ ।

०५८ सालमा काङ्ग्रेस दुई चिरा हुँदा ठुलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औँल्याउनुभयो । नेपाल न्युज बैङ्कसँगको विशेष संवादमा उहाँले काङ्ग्रेसभित्र अब युवा एकातिर र पाका पुस्ताका नेताहरु अर्कोतिर हुने बताउनुभयो ।

“काङ्ग्रेस फुट्दैन तर युवा र पाका पुस्ताबिच अन्तरद्वन्द्व सुरू हुन्छ । तर, केही शक्तिहरूले म्यानिपुलेट गर्ने सम्भावना भएकाले सानो समूह चोइटिन सक्छ,” उहाँले भन्नुभयो ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको ‘सम्वाद’ भएपनि कांग्रेसभित्र संवादहीनताको अवस्था रहेको औँल्याउँदै नेविसंघका पूर्वकेन्द्रीय सदस्य शर्माले पार्टी सभापति गगन कुमार थापा सम्वाद गर्ने मुडमा नरहेको आफूले अनुभव गरेको सुनाउनुभयो ।

कुनै समय भारतीय नेताहरु राजीव गान्धी र अटल बिहारी बाजपेइबिचको सम्बन्ध एवम् सम्वादको उदाहरण दिँदै नेता शर्माले गगन थापाका प्रशस्त कमजोरीहरू औँल्याउनुभयो । थापाले फागुन २१ गतेको निर्वाचनअघि नै सबै पक्षका नेताहरुसँग सम्वाद गर्न अटेरी गरेर ठुलो गल्ती गरेको बताउनुभयो ।

“फागुन २१ गतेको निर्वाचन अगावै सभापति गगन थापाले सबै समूहका नेताहरुसँग डाइलग गरेको भए आठदेखि १० सिट थपिने थियो । उहाँ डाइलग गर्न हिचकिचाइरहनुभएको छ, त्यो भनेको डेमोक्रेसीको सुन्दरता होइन,” उहाँले भन्नुभयो, “अटल विहारी र राजीव गान्धीबिच घोचपेच प्रशस्त हुन्थ्यो र निरन्तर सुमधुर सम्वाद पनि हुन्थ्यो । होइन भने एक पटक इतिहास पल्टाएर हेर्नुहोस । उहाँहरुबाट पनि हामीले सिक्नुपर्छ ।”

नेपाली काङ्ग्रेस र जनताबीच सूचना आदनप्रदानमा ठुलो कमजोरी रहेको बताउँदै नेता शर्माले जनता र पार्टीबिच सुमधुर सम्बन्ध राख्न सूचना आदनप्रदान महत्त्वपूर्ण हुने औँल्याउनुभयो ।

“बदल्यौँ काङ्ग्रेस, बदल्छौँ देश’ भन्ने नाराप्रति कटाक्ष गर्दै नेता शर्माले कपीपेस्टको राजनीतिले माथि पुग्न नसकिने बताउनुभयो । “यो नारा त मलाई ०६२÷६३ सालको आन्दोलनताका ठुला होर्डिङ बोर्डमा राखिएको फेयर एन्ड लब्लीको विज्ञापनजस्तो पो लाग्छ । नारामा कुनै सिर्जना नै छैन, अपनत्व नै छैन । नाराले त कार्यकर्ताको रगत उम्लिनुपर्छ र रौँ ठाडो हुनुपर्छ, त्यस्तो केही अनुभूति नै गर्न सकिएन्,” उहाँले भन्नुभयो ।

यस्तै, तौरतरिकाले नेपाली काङ्ग्रेस नबदलिने र बदल्न नसकिने उहाँको भनाइ छ । “तत्कालीन पार्टी सभापति शेर बहादुर देउवा र हालका सभापति गगन थापाको कार्यशैलीमा मैले केही भिन्नता पाएको छैन । जनताले के भिन्नता भेट्लान र ? नबदलिएको काङ्ग्रेसले देश बदल्न सक्दैन,” उहाँले भन्नुभयो ।

यतिबेला देश बदल्ने मात्र नभइ फड्को मारेर जानुपर्ने बताएका उहाँले काङ्ग्रेसका नेताहरू काम गरिसकेपछि वा रिटायर्ड भएपछि आफ्नो जन्मभूमिका फर्कनुको साटो अवसरको दौरानमा हिँडेकाले पार्टीले थप क्षति व्यहोर्ने बताउनुभयो ।

“अमेरिकामा जर्ज वासिङटन राष्ट्रपति भइसकेपछि आफ्नो मातृभूमि गएर बसे । शेर बहादुर देउवादेखि पूर्ण बहादुर खड्काहरू रिटायर्ड भइसक्नुभयो । उहाँ जन्मगाउँ फर्किनुपर्छ, अभिभावक बनेर बस्नुपर्छ । देउवा डडेल्धुरा नै जानुपर्छ र खड्का सुर्खेत नै फर्किनुपर्छ । अनिमात्र गाउँदेखि काङ्ग्रेसको संगठन निर्माण हुन्छ,” उहाँले भन्नुभयो, “अब पुराना पुस्ताका नेताहरुले नयाँ पुस्ताका युवाहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । सक्नुहुन्छ भने आफ्नै परिवारका सदस्यलाई जिम्मेवारी दिए पनि हुन्छ । किनकी उहाँहरुले आफ्ना परिवार वा छोराछोरीलाई राम्रो शिक्षा दिनुभएको छ र शिक्षित युवाहरु राजनीतिमा आएमात्र देश बदलिने छ ।” –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...