झापा, १० फागुन । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रूपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।
चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार रूपैयाँ बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको छ । उक्त अवधिमा दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रूपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । आव २०८१/८२ को सोही अवधिमा तीन अर्ब १६ करोड ६२ लाख १३ हजार रूपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१ दशमलव १० प्रतिशत, छुर्पी ६३ दशमलव ३० प्रतिशत, अदुवा, सुठो एक सय एक दशमलव ८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ३१६ दशमलव २० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी प्लाउड ४० दशमलव ९० प्रतिशत, अम्रिसो २४ दशमलव ९० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्त सम्ममा १६ अर्ब तीन करोड १५ लाख ८३ हजार रूपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।