यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

21

पर्वत, १५ माघ । यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ । यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र २० करोड रूपैयाँका सुन्तला निर्यात भएको छ भने मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात गरिएको हो ।

कार्यालयका अनुसार यस वर्ष तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको हो । कृषकले प्रतिकिलो ९५ रूपैयाँदेखि १२० रूपैयाँसम्म बोटबाटै बिक्री भएको कृषि विकास कार्यलयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले पर्वतमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन पनि राम्रो भएको र बजार मूल्य पनि राम्रो पाएको जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा सुन्तलाखेती गरिरहेका किसान यस वर्ष सुन्तलाको राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन् । गाउँ–गाउँमा सडकको सुविधा पुगेसँगै काठमाडौँ, नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीले बगानमै आएर सुन्तला लगेका थिए । गाउँमा सडक पुगेपछि आफैँले लगेर काठमाडौँ तथा बुटवलका बजारमा बिक्री गर्न पाएको तथा बजारका व्यापारी पनि गाउँमै आएर सुन्ताल किनेर लाने गरेको किसानहरुले बताएका हुन् ।

एउटै टोलबाटै एक करोड रूपैयाँदेखि डेढ करोड रूपैयाँसम्म सुन्तला बिक्री गर्न सफल भएको फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमले बताउनुभयो । पछिल्लो सुन्तला कृषकलाई प्रोत्साहन दिनका लागि प्रदेश सरकार र स्थानीय तहहरुले पनि विभिन्न सहयोग गर्दै आएका छन् । किसानलाई विभिन्न स्थलगत तालिम दिनेदेखि, गोडमेल गर्ने, चुन, नीलोतुथो जस्ता विषादी पनि दिने गरिएको छ ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता राजमार्ग सञ्चालन हुनाका साथै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय सडक सञ्जाल फैलिएपछि सुन्तला बजारीकरणमा समेत सहज भएको छ । किसानले सुन्तला ग्रेडिङ गरेर जेठी, माइली, कान्छी गरेर बगैँचाबाटै बिक्रीका लागि लाने गरिएको बताएका छन् । यहाँ माघको अन्तिम सातासम्म बोटमै सुन्तला रहने हावापानी भएका कारण पनि सुन्तलाले राम्रो मूल्य पाएको हो ।

यहाँ ४०० भन्दा बढी किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । विशेषगरी जलजला गाउँपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा गरी ८३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ । पछिल्लो वर्षमा सुन्तलाखेतीमा किसानको आकर्षणसमेत बढ्दै गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...